Skip to main content

बडिमालिका भ्रमणका क्रममा बेहोस भएका सतर्कता केन्द्रका लेखा अधिकृतको निधन

२ जेठ, काठमाडौं । बाजुरा जिल्लाको बडिमालिका भ्रमणका लागि जाँदै गर्दा बेहोस भएका राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौंका लेखा अधिकृतको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, मृत्यु हुने व्यक्ति सतर्कता केन्द्रमा कार्यरत ५६ वर्षीय लेखा अधिकृत विश्वराज पन्थी हुन्। उनका स्थायी ठेगाना भैरहवा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पन्थीसहित चार जनाको टोली बडिमालिका दर्शनका लागि बाजुरा पुगेको थियो। गन्तव्यतर्फ जाँदै गर्दा बडिमालिका नगरपालिका–८ अन्तर्गत खारेको जंगलमा पन्थी बेहोस भएका थिए। त्यहाँबाट उद्धार गरी उनलाई शुक्रबार बिहान ५:४५ बजे जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो। अस्पताल पुग्दा ५:५० बजे चिकित्सकले मृत्यु घोषणा गरेका थिए। पन्थीसँगै राष्ट्रिय सतर्कता केन्द्रमै कार्यरत उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे तथा लेखापाल उमेश शर्मा पनि बडिमालिका दर्शनका लागि बाजुरा पुगेका थिए, प्रहरीले जनाएको छ।