मदुरोका नजिकका पूर्व मन्त्री एलेक्स साबलाई अमेरिकाले पक्राउ गरी बुझायो

३ जेठ, काठमाडौं। अमेरिकामा बन्दी रहेका भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका एक नजिकका पूर्व मन्त्रीलाई अमेरिकी पक्षलाई बुझाइएको छ। पूर्व उद्योग मन्त्री एलेक्स साबलाई भेनेजुएलाको राजधानी काराकसबाट अमेरिका लगिएको समाचार आएको छ। समाचार अनुसार उनी भेनेजुएलाका धनी व्यवसायीसमेत हुन्, जो कोलम्बियामा जन्मिएका थिए। मदुरो शासनकालमा उनी राष्ट्रपति निकटतम मन्त्रीमध्ये एक मानिन्थे।
पूर्व मन्त्री साब फेब्रुअरी महिनामा काराकसमा भेनेजुएला र अमेरिकी अधिकारीहरुको संयुक्त अपरेसनमा पक्राउ परेका बताइएको छ। जनवरी महिनामा अमेरिकाले काराकसमा सैन्य आक्रमण गरी तत्कालीन राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएर आफ्नो देश लगेको थियो। अहिले पूर्व मन्त्री साबलाई अमेरिका लैजानुको कारण र उनीमाथि लागेको आरोप के हो भन्ने जानकारी सार्वजनिक गरिएको छैन।

