
समाचार सारांश: चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा ५.७ प्रतिशत मात्र वृद्धि भएको छ। ट्रस्ट रिसिप्ट कर्जा ३२ प्रतिशत बढेर १ खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। घरजग्गा क्षेत्रमा कर्जा ३.५ प्रतिशतले घटेको छ, तर ३ करोड रुपैयाँसम्मको आवासीय कर्जा भने बढेको छ। ३ जेठ, काठमाडौं।
चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएको कर्जा समग्रमा ५.७ प्रतिशतले मात्र वृद्धि भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म बढीमा ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ मात्रै थप कर्जा प्रवाह गरिएको छ। चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जा रकम ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
क्षेत्रगत रूपमा हेर्दा, ट्रस्ट रिसिप्ट अर्थात् आयात प्रकृतिको क्षेत्रमा सबैभन्दा उच्च दरले कर्जा वृद्धि भएको छ। सामान आयातका लागि बैंक तथा वित्तीय संस्थाले व्यापारी र आयातकर्तालाई ती सामान बिक्री नभएसम्म दिने अल्पकालीन कर्जा नै ट्रस्ट रिसिप्ट कर्जा हो। असार मसान्तको तुलनामा चैत मसान्तसम्म यस्तो कर्जा ३२ प्रतिशतले वृद्धि भएर १ खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।
गत असार मसान्तसम्म यो कर्जा १ खर्ब २५ अर्ब १८ करोड रुपैयाँ थियो। समग्र आयात बढ्दा पनि उक्त कर्जा बढेको हो। तर घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जा वृद्धि भने ऋणात्मक रहेको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चैत मसान्तसम्म घरजग्गा (रियल इस्टेट) कर्जा ३.५ प्रतिशतले घटेको छ। चैत मसान्तसम्म यस क्षेत्रमा गएको कुल कर्जा २ खर्ब ६६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ, जबकि गत असार मसान्तसम्म त्यो २ खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँ थियो। यद्यपि ३ करोड रुपैयाँसम्मको आवासीय घरकर्जा भने बढेको छ। चैत मसान्तसम्म यस्तो कर्जा ४ खर्ब ५८ अर्ब ७५ करोड रुपैयाँ प्रवाह गरिएको छ, जुन असार मसान्तसम्म ४ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ थियो। पछिल्लो समयमा घरजग्गा कारोबार र मूल्य प्रभावका कारण घरजग्गा क्षेत्रमा कर्जा घटेको हो। तर बारम्बार आवासीय कर्जाको सीमा बढाइँदै गएका कारण यस क्षेत्रमा कर्जा वृद्धि भएको हो। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फतै २ करोड रुपैयाँबाट यो कर्जाको सीमा ३ करोड रुपैयाँ पुर्याइएको हो।

