Skip to main content

नेटफ्लिक्समाथि जासुसी आरोप: ‘जब तपाईं नेटफ्लिक्स हेर्नुहुन्छ, त्यस बेला तपाईंको निगरानी हुन्छ’

नेटफ्लिक्समाथि अमेरिकाको टेक्सस राज्यमा प्रयोगकर्ताहरूको सहमति बिना सम्बन्धित डेटा सङ्कलन गरेको आरोप लागेको छ। यसरी संकलित डेटा बालबालिका र वयस्कहरू समेत सबैलाई आकर्षित गर्न “लत” लगाउने डिजाइन प्रयोग गरिएको दावी नेटफ्लिक्सविरुद्ध गरिएको मुद्दामा गरिएको छ। टेक्ससका महान्यायाधिवक्ता केन प्याक्स्टनले प्रसारण क्षेत्रको ठूला कम्पनीमाथि नागरिकहरूको “जासुसी” गरेको आरोप लगाएका छन्। प्रयोगकर्ताले उक्त मञ्चमा गर्ने गतिविधिहरूको जानकारी अर्बौँमा संकलन गरिन्छ र नेटफ्लिक्सले त्यसबाट ठुलो आर्थिक लाभ उठाएको प्याक्स्टनले बताएका छन्। “यी प्रत्येक अन्तरक्रियाले प्रयोगकर्तासम्बन्धी डेटा संकलनको स्रोत बन्छ,” उनको कार्यालयले जनाएको छ।

नेटफ्लिक्सले सम्पूर्ण आरोपहरू अस्वीकार गर्दै अदालतमा चुनौती दिने जनाएको छ। टेक्ससका प्रमुख अभियोजकले गत साता उजुरीमा भने, “जब तपाईं नेटफ्लिक्स हेर्नुहुन्छ, नेटफ्लिक्सले तपाईंलाई पनि हेर्छ।” नेटफ्लिक्सका एक प्रवक्ताले भने, “टेक्सस र महान्यायाधिवक्ता प्याक्स्टनप्रति हामी सम्मान व्यक्त गर्दछौं तर यो मुद्दा योग्य विषय होइन, पूर्णरुपमा तथ्यहीन र भ्रमपूर्ण छ।” नेटफ्लिक्सले सदस्यहरूको गोपनीयतालाई गम्भीरतापूर्वक लिन्छ र डेटा सुरक्षासम्बन्धी कानुनहरूको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रसारण कम्पनीले डेटा प्रशोधन र विज्ञापन प्रदान गर्ने मामिलामा अन्य ठूला प्रविधि कम्पनीहरूसँग तुलना गर्दा फरक रहेको दाबी गरेको छ। कम्पनीका पूर्वप्रमुख रीड ह्याटिङ्सलाई २०१९ र २०२० मा प्रयोगकर्ताको डेटा बिक्री वा आर्थिक लाभ कमाउने उद्देश्य नभएको भन्दै उजुरीमा उद्धृत गरिएको छ। यद्यपि अभियोगपत्रमा नेटफ्लिक्समाथि ‘अटो-प्ले’ सामग्रीमार्फत प्रयोगकर्तामा लत लगाउने डिजाइन र ती गतिविधिहरू व्यापक रूपमा सूचीबद्ध गर्ने आरोप लगाइएको छ।

महान्यायाधिवक्ता प्याक्स्टनको कार्यालयले नेटफ्लिक्सले टेक्सस राज्यको कानून उल्लङ्घन गरेको जनाएको छ। ‘टेक्सस डिसेप्टिभ ट्रेड प्राक्टिसेस एक्ट’ले “व्यापार र वाणिज्यमा झूट, धोका वा भ्रामक व्यवहार”लाई निषेध गरेको छ। यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूलाई महान्यायाधिवक्ताले जरिवाना र सजाय माग गर्न सक्नेछ। महान्यायाधिवक्ता कार्यालयले अदालतमा नेटफ्लिक्सलाई टेक्ससबाट गलत रूपमा संकलित डेटा मेटाउन आदेश दिन आग्रह गरेको छ।