
२७औं एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगोलियाको उलानबटार जाने तयारीमा छ। यस प्रतियोगितामा पुरुष ५८ केजीमुनि सुमित विष्ट, ६३ केजीमुनि साहिल सुनुवार र ८० केजीमुनि अभिषेक बरालले प्रतिस्पर्धा गर्नेछन्। नवौं एसियाली पुम्से तेक्वान्दो प्रतियोगितामा युवराज राना मगर र स्वस्तिका तामाङले आफ्नो क्षमता देखाउनेछन्।
नेपालको टोली मंगलबार मंगोलियाको उलानबटार प्रस्थान गर्नेछ। यो प्रतियोगिता जापानको आइची-नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुद छनोटका लागि अत्यन्त महत्वपूर्ण छ। प्रतियोगितामा पोख्त ३ पुरुष र ४ महिला खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्नेछन्। जेठ ५ देखि ११ गतेसम्म सञ्चालन हुने यस च्याम्पियनसिपमा पुरुष तर्फ सुमित विष्ट (५८ केजीमुनि), साहिल सुनुवार (६३ केजीमुनि) र अभिषेक बराल (८० केजीमुनि) प्रतिस्पर्धा गर्नेछन्।
महिलातर्फ सन्तोषी राई (४६ केजीमुनि), गीता कठायत (५३ केजीमुनि), शुभाङ्गी श्रेष्ठ (५७ केजीमुनि) र सोनिया गैरे (४९ केजीमुनि)ले नेपालको प्रतिनिधित्व गर्नेछन्। क्वाटरफाइनलमा प्रवेश गर्ने खेलाडीले एसियाली खेलकुदमा छनोट प्राप्त गर्ने नियम रहेको छ। नेपाली खेलाडीहरूको खेल जेठ ७ गतेदेखि सुरु हुनेछ। टोलीका प्रशिक्षकमा पूर्णकुमार योञ्जन, सइद हसन रेजे र सन्दिपा आम्गाईं रहेका छन्।
टोलीलाई सफलता प्राप्तिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता एवं राखेप कार्यकारी समितिका पूर्व सदस्य भानुबहादुर चन्दले सोमबार एक कार्यक्रम मार्फत बिदाइ गरेका छन्। उलानबटारमै सञ्चालन हुने नवौं एसियाली पुम्से तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली टोली मंगोलिया पुगिसकेको छ। यस प्रतियोगितामा युवराज राना मगर र स्वस्तिका तामाङले आफ्नो प्रदर्शन गर्नेछन्।

