Skip to main content

स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

४ जेठ, स्याङ्जा । स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। स्याङ्जाको हरिनास गाउँपालिका–६ मा भएको घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत शुक्रबार राति करिब ११ बजेतिर हरिनास गाउँपालिका-६ का १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरीले परिचालन गरिएको थियो।

घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आरोपित २८ वर्षीय सन्दीप विकलाई शनिबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेका विक पनि हरिनास गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्। उनलाई घटनास्थल नजिकैबाट नियन्त्रणमा लिइएको र अहिले जबरजस्ती करणीको कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बालिकाको अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन। बालअधिकार र संवेदनशीलता सम्बन्धित विषय भएकाले पीडितको पहिचान खुल्ने कुनै पनि विवरण सार्वजनिक नगरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी चौधरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको बताए।

उनका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ। ‘घटनाको जानकारी पाएसँगै प्रहरी टोली परिचालन गरिएको थियो। आरोपितलाई नियन्त्रणमा लिएर स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ,’ उनले भने, ‘हाल घटनासम्बन्धी थप अनुसन्धान जारी छ र कानुनी प्रक्रिया अनुसार कारबाही भइरहेको छ।’ प्रहरीले आइतबार स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासँग सम्बन्धित थप प्रमाण संकलन, बयान तथा अन्य प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ।