Skip to main content

आईजीपी र एपीजी अन मनि लण्डरिङ प्रतिनिधिहरूबीच महत्वपूर्ण भेटवार्ता

प्रहरी महानिरीक्षक दानबहादुर कार्की र एसिया प्यासिफिक ग्रुप (एपीजी) अन मनि लण्डरिङका प्रतिनिधिहरूबीच सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानीसूचीबाट नेपाललाई बाहिर निकाल्ने कार्ययोजनामा छलफल भएको छ। नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा अन्य निकायसँग समन्वय, क्षमता अभिवृद्धि र प्राविधिक सहयोगमा गरिरहेको कामको वर्तमान अवस्था प्रस्तुत गरेको छ। उक्त भेटवार्तामा वित्तीय अपराध नियन्त्रणमा सूचना आदानप्रदान, आपसी सहयोग र समन्वयका विषयमा समेत व्यापक छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

५ जेठ, काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया प्यासिफिक ग्रुप (एपीजी) अन मनि लण्डरिङका प्रतिनिधिहरूबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता सम्पन्न भयो। एपीजीका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच सम्पन्न यो भेटघाटमा नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानी सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्ने उद्देश्यले नेपालले प्रस्तुत गरेको कार्ययोजनाको विषयमा विस्तृत छलफल भएको थियो।

कानून कार्यान्वयन गराउने प्रमुख निकाय नेपाल प्रहरीको भूमिकालाई मध्यनजर गर्दै, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँग नेपाल प्रहरीले गरिरहेको प्रभावकारी समन्वय, कारबाहीको वर्तमान अवस्था, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोग सम्बन्धमा वृहत छलफल भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सो अवसरमा वित्तीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, आपसी सहयोग र समन्वयका विषयमा पनि व्यापक कुराकानी भएको थियो। उक्त कार्यक्रममा वित्तीय जानकारी इकाईका प्रमुख तथा विभिन्न पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक र पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरू उपस्थित थिए।