Skip to main content

सांसद मल्लले सल्यानमा स्वास्थ्य सेवा संकटप्रति सरकारको ध्यानाकर्षण गराए

६ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा स्वास्थ्य पूर्वाधार, उपकरण र विशेषज्ञ चिकित्सकको कमीकमजोरीले स्वास्थ्य सेवामा गम्भीर समस्या उत्पन्न भएको बताएका छन् र सरकारले यसप्रति ध्यान दिन आवश्यक रहेको जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले सल्यानमा स्वास्थ्य सेवा सम्बन्धी विभिन्न समस्याहरूको सरकारको ध्यानाकर्षण गराएका हुन्।

केही समयअघि सल्यान जिल्ला अस्पतालमा सुत्केरी महिलालाई ‘विशेषज्ञ चिकित्सक उपलब्ध छैन’ भन्दै अस्पतालको गेटमै फर्काइएको घटना सार्वजनिक भएको स्मरण गराउँदै उनले उक्त घटनालाई सल्यानको समग्र स्वास्थ्य समस्याको दुःखद प्रतिबिम्बको रूपमा व्याख्या गरे। उनका अनुसार, जिल्ला अस्पतालमा सात जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए तापनि हाल एक चिकित्सक मात्रै काम गरिरहेका छन्।

अस्पताल पूर्वाधार विकास कार्य व्यवस्थापकीय कमजोरी, सरकारी उदासीनता र निर्माण व्यवसायीको गैरजिम्मेवारिताका कारण अलपत्र परेको मल्लले बताए। आवश्यक उपकरणको अभावका कारण सामान्य शल्यक्रिया पनि प्रभावित भइरहेको उनको भनाइ छ। उनले प्रत्येक पालिकामा १५ शैयाको आधारभूत अस्पताल बनाउन सरकारद्वारा गरिएको घोषणामध्ये धेरै स्थानमा काम अलपत्र रहेको उल्लेख गरे।

उनले कर्णाली प्रदेशमा दुईपटक विज्ञापन गरेपछि समेत ७६ विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको तथ्य प्रस्तुत गर्दै यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठाए। तत्कालका लागि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेर फर्किएका विशेषज्ञ चिकित्सकलाई प्रदेश सरकारमार्फत जिल्ला अस्पतालमा खटाउने व्यवस्था गर्न आयोगमार्फत सभामुखमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।