
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा शीर्ष स्थानको अमेरिकामाथि शानदार जित दर्ता गर्यो। नेपालले ३१८ रनको लक्ष्य दिएको खेलमा स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३ विकेट लिएर अमेरिकालाई १९५ रनमा समेटियो। नेपालले स्कटल्याण्ड र अमेरिकासँगको सिरिजमा ४ मध्ये ३ खेलमा जित निकालेको छ र २४ अंकसहित पाँचौं स्थानमा छ। ८ जेठ, काठमाडौं।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले शीर्ष स्थानको अमेरिकामाथि शानदार जित दर्ता गर्यो। टप अर्डर ब्याटिङ चल्दा नेपालले घरेलु मैदानमा भएको ओडीआई खेलमा सर्वाधिक योगफल तयार गर्न सफल भयो। पछिल्ला २ खेलमा राम्रो ओपनिङ गरेका कुशल भुर्तेल र आसिफ शेखले यस खेलमा पनि निरन्तरता दिए। कुशल र आसिफले पहिलो विकेटका लागि १२ ओभर ५ बलमा ६९ रनको साझेदारी गरे। कुशल ३९ बलमा २९ र आसिफ ५७ बलमा ४३ रन बनाएर आउट भए।
सुरुवात राम्रो हुँदा त्यसपछि आएका ब्याटरले पनि खुलेर खेल्ने अवसर पाए। तेस्रो विकेटका लागि इशान पाण्डे र कप्तान रोहित पौडेलले लगतार दोस्रो खेलमा शतकीय साझेदारी गरे। अमेरिकाविरुद्ध उनीहरुले ११० रनको साझेदारी गर्दा नेपाल मजबुत स्थितिमा रह्यो। इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाए। यो खेलमा उनले ८३ बलमा ८४ रन बनाएर आउट भए। रोहित ५९ बलमा ४६ रन बनाए। त्यसपछि आएका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आक्रमक अर्धशतक प्रहार गर्दा नेपालले स्कोर ३ सय माथि पुग्न सफल भयो। दीपेन्द्रले ३६ बलमा ५९ रन बनाए।
गुल्सन झा १५, सोमपाल कामी ५ र नन्दन यादव एक रनमा आउट हुँदा आरिफ शेख १८ रनमा अविजित रहे। बलिङमा अमेरिकाका शुभम रञ्जने २, मिलिन्द कुमार र रुशिल उगर्कारले एकएक विकेट लिए। बलिङमा चम्किए स्पिनर अमेरिकालाई सस्तोमै समेट्न नेपालका स्पिनर हावी भए। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटियो। उत्कृष्ट लयमा रहेका सन्दीप लामिछानेले यो खेलमा पनि लय कायम राखे। उनले अमेरिकाविरुद्ध १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। अर्का स्पिनर ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए। पेस बलर गुल्सन झाले २ र सोमपाल कामीले एक विकेट लिए।
सोमपालले पहिलो ओभरमा ओपनर स्मित पटेललाई आउट गरेपछि अमेरिकाले कुनै रन नजोड्दै पहिलो विकेट गुमायो। त्यसपछि शायन जहांगिर र शेहान जयसूर्याले अमेरिकाको ब्याटिङ सम्हाल्ने प्रयास गरे। उनीहरुको अर्धशतकीय साझेदारीमा सन्दीपले ११औं ओभरमा ब्रेक लगाए। शायन २७ र शेहान २६ रनमा आउट भए। त्यसपछि भने अमेरिकाले लगातार विकेट गुमाउन पुग्यो। कप्तान साइतेजा मुक्कामल्ला २२, मिलिन्द कुमार १२ र शुभम रञ्जने २ रनमा आउट हुँदा हर्मित सिंह कुनै पनि रन नजोडी आउट भए। अमेरिकाका लागि मध्यक्रममा ब्याटिङ गर्न आएका सञ्जय कृष्णमूर्तीले संयमित ब्याटिङ गरे। तर, जित निकाल्न सकेनन्। नेपालका स्पिनर हाबी हुँदा अमेरिकाले ९५ रन जोड्दा ७ विकेट गुमायो।
आठौं विकेटका लागि सञ्जयले नोस्थुश केन्जिगेसँग ७० रनको साझेदारी गरे। सञ्जय ५६ र नोस्थुश २९ रनमा आउट भए। त्यसपछि शौरभ नेत्रभल्कर १० रनमा गुल्सनको परिबन्धमा पर्दा अमेरिका १९५ रनमा समेटिन पुग्यो। योसँगै नेपालले स्कটल्याण्ड र अमेरिकासँगको सिरिजमा ४ मध्ये ३ खेलमा जित निकालेको छ। घरेलु सिरिज सकिएको नेपाल २८ खेलमा ११ जितसहित २४ अंक जोडेर पाँचौं नम्बरमा छ।

