Skip to main content

रुकुमपूर्वको मैकोट खोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट खोलामा निर्मित बेलिब्रिज आइतबारदेखि सञ्चालनमा आएको छ। गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट करिब १ करोड ५० लाख रुपैयाँको बजेटमा उक्त बेलिब्रिज निर्माण गरेको हो। बेलिब्रिज सञ्चालनमा आएसँगै वर्षायाममा स्वास्थ्य, शिक्षा र बजारसम्म पहुँचमा समस्या भोगिरहेका स्थानीय बासिन्दालाई सहजता मिल्ने भएको छ।

गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले एक कार्यक्रमका दौरान बेलिब्रिजको उद्घाटन गरेका छन्। बेलिब्रिज सञ्चालनपछि बर्खायाममा आवतजावत गर्न सर्वसाधारणलाई धेरै सहज भएको अध्यक्ष घर्तीमगरले जानकारी दिए। यो खोला पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आएको सानीभेरी नदीको सहायक नदी हो। वर्षायाममा खोलाको बाढी बढेर तर्न कठिन हुँदा गाउँका नागरिकले स्वास्थ्य, शिक्षा र बजारसम्मको पहुँचमा गम्भीर समस्या भोग्नु परेको थियो। अब यी सबै समस्याबाट स्थानीयहरूले राहत पाउने स्थानीय पाना पुनले बताएका छन्।