मलेसियामा लाइफबोट मर्मत कामका क्रममा समुद्रमा खस्दा तीन मजदुरको मृत्यु

मलेसियाको सरकारी ऊर्जा कम्पनी पेट्रोनासको जहाजबाट समुद्रमा खसेर तीन मजदुरको मृत्यु भएको छ। आइतबार दिउँसो कम्पनीको ‘एफएसओ सेपात’ नामक फ्लोटिङ स्टोरेज एन्ड अफलोडिङ जहाजमा लाइफबोट मर्मत गरिरहेको बेला मजदुर समुद्रमा खसेका थिए। जहाज मलेसियाको पूर्वी तटीय राज्य तेरेङ्गानुअ नजिकै समुद्रमा रहेको थियो। मर्मत कार्यका क्रममा लाइफबोटको हुक अचानक छुटेपछि समुद्रमा खसेर एक जना जवान गम्भीर घाइते भएका छन्। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै आइतबार दिउँसो करिव १२:५० बजे यो घटना भएको पुष्टि गरेको छ।
दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। उद्धार गरिएका चारै जनालाई अस्पताल पुर्याइएको थियो। तिनीहरूमध्ये तीन जनालाई अस्पताल लैजाने क्रममा नै मृत घोषित गरिएको थियो। घाइते कामदार सुल्तानह नुर जाहिराह अस्पतालमा उपचाररत छन्। कम्पनीले विज्ञप्तिमा जनाएको छ, “सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।” स्थानीय प्रहरीले जानकारी गराएको छ कि कामदारहरू मर्मत कार्यका लागि लाइफबोटमा चढेर समुद्र सतहमा ओर्लन लागेका थिए। त्यतिखेर बोटलाई बाँध्न प्रयोग गरिने हुक अचानक छुटेको थियो। डोरी फुटेपछि लाइफबोट सिधै समुद्रमा खसेको थियो।

