
जब तपाईंको उमेर ४० वर्ष पार गर्छ, निश्चित संकेतहरू देखिन थाल्छन्। कोलेस्टेरोल बढ्न थालेको हुन्छ, र रगतमा सुगर प्रि–डाइबिटिजको अवस्थामा पुगिसकेको हुन्छ। रगतको दबाब (प्रेसर) तल–माथि हुन थाल्छ। नेपालमा तीन दशकअघि ५४.३ वर्ष रहेको नेपालीको औसत आयु अहिले १७ वर्षले बढेर ७१.३ वर्ष पुगेको छ। अर्को दुई दशक भित्र देशको कुल जनसंख्यामध्ये २५ प्रतिशतले ६० वर्षभन्दा माथिको उमेरसम्म पुग्ने भएका कारण स्वस्थ बुढ्यौलीका लागि पूर्वतयारी आवश्यक छ। स्वस्थ बुढ्यौली सुनिश्चित गर्न मानिसहरूले ४० वर्षको उमेर पार गरेसँगै शरीरको नियमित परीक्षण र जीवनशैलीमा सुधार गर्नुपर्छ।
नेपालमा मानिसहरूको औसत आयु निरन्तर बढिरहेको छ। तीन दशक अघि अर्थात् २०४८ सालमा औसत आयु ५४.३ मात्र थियो भने हाल यो ७१.३ वर्ष पुगिसकेको छ, जुन १७ वर्षले वृद्धि हो। बालमृत्यु दरमा सुधार, स्वास्थ्य सेवा पहुँचको विस्तार जस्ता कारणले मृत्युदर घटेको छ र त्यसले औसत आयुलाई वृद्धि गरेको छ। भविष्यमा यो अझै बढ्ने अपेक्षा गरिएको छ। अर्को दुई दशकमा देशको जनसंख्याको २५ प्रतिशत मानिसको उमेर ६० वर्ष वा त्यो भन्दा माथि पुग्नेछ। यसको अर्थ अधिकांश हरेक चार जनामध्ये एक जना वृद्ध हुनेछन्। यसले आधिकारिक जुनसुकै देशमा पनि चुनौती ल्याउँछ।
बुढ्यौलीको समय लामो समय हेरचाह, स्रोतसाधन र पूर्वाधार आवश्यक पर्छ। केयर होमहरू, अस्पतालमा विशेष सेवा सुविधा, पुनर्वास केन्द्रहरू, जेरियाट्रिक (बृद्धावस्थाको उपचार गर्ने) डाक्टरहरू, नर्स तथा केयर गिभरहरूको आवश्यकता हुन्छ। यस्ता संरचनाहरू विकास गर्न धेरै वर्ष लाग्छ। धनी देशहरूमा औसत आयु ८० वर्षभन्दा माथि पुग्न र एजिङ सोसाइटी बन्न सयौं वर्ष लागेको थियो। तिनीहरूले बिस्तारैं तयारी गर्दै गए र मानिसहरू क्रमिक रूपमा बुढो हुँदै गए। तर हामी जस्तो देशहरूमा धनी हुनअघि नै जनसंख्या छिट्टै बुढो हुँदै छ। त्यसैले अहिलेदेखि नै काम थाल्न आवश्यक छ, नभए पछि ढिला हुन्छ। स्वस्थ बुढ्यौलीका लागि अहिले नै काम गर्ने उपयुक्त समय हो।
स्वस्थ बुढ्यौली भन्नाले के बुझिन्छ? विश्व स्वास्थ्य सङ्गठनले समेत प्राथमिकतामा राखेको अवधारणा हो स्वस्थ बुढ्यौली। पहिले यसलाई अंग्रेजीमा ‘एक्टिभ एजिङ’ भनिन्थ्यो भने अब ‘हेल्दी एजिङ’ भनिन्छ। ६० वर्षको उमेर पुगेपछि शरीरमा रोग हुन सक्छ तर त्यसलाई नियन्त्रणमा राखेर हिँडडुल सहज तरिकाले गर्न सक्दा र मनपर्ने काम गर्न सक्दा स्वस्थ बुढ्यौली मानिन्छ। स्वस्थ बुढ्यौलीका लागि सबैभन्दा पहिले आफैँबाट सुरु गर्नुपर्छ, त्यो पनि ६० वर्षपछि होइन, ४० वर्ष माथि पुगेपछि। किनभने ४० देखि ५० वर्षको आयु स्वास्थ्यको हिसाबले जोखिमयुक्त समय हो।
४० वर्ष कटेपछि रमाउने होइन, खुशी हुने ४० देखि ५० वर्षको उमेरमा धेरैले काम गरेर राम्रो आम्दानी गर्न थालेका हुन्छन्। पैसा पनि उपलब्ध हुन्छ र अरूले पनि अफिमाथि हेर्न थाल्छन्। यस कारण रमाइलो गर्ने समय आएको महसुस हुन्छ। नेपाली लोकगीतमा पनि छ, “साइली ४० कटेसी रमाउँला”। यसको अर्थ पैसा कमाएर ४० पार गरेपछि रमाउने भन्ने रहेको छ। तर वास्तविकता भनेको ४० पार गरेपछि रमाउने होइन, खुसी भएर जीवनशैलीलाई निरन्तरता दिने हो।
हामीले अपनाउनुपर्छ जीवनशैलीलाई कायम राख्ने, किनभने हामी बाँच्ने अवधि ६० मात्र होइन, ८५ देखि ९० वा त्यो भन्दा माथि पनि हुन सक्छ। तसर्थ ४० वर्ष कटेपछि स्वास्थ्य सचेत हुन आवश्यक छ। ६० वर्ष नाघेपछि त थप बिग्रने नदिन ध्यान दिनुपर्ने हुन्छ। ४० वर्ष पार गरेपछि कोलेस्टेरोल बढ्ने, सुगर प्रि–डाइबिटिजमा पुग्ने, रगतको दबाव अनियमित हुने जस्ता संकेत देख्न थालिन्छन्। यसअर्थ, भोलि बिर्सिने रोग लाग्ने सम्भावना हुने मानिसलाई थोरै समस्या देखिन थालिसकेको हुन सक्छ। तर यसले अनिवार्य रूपमा डिमेन्सियामा परिणत हुने संकेत होइन। यसले हामीलाई अघि नै सावधानी अपनाउन प्रेरित गर्छ।
त्यसैले हामीलाई प्रिभेन्टिभ अर्थात् रोग रोकथाम गर्ने उपायहरू लिनु पर्छ। सानोतिनो समस्या भए तुरुन्त सल्टाउनु पर्छ र सबै कुरा नियमित रूपमा कायम राख्न थाल्नुपर्ने हुन्छ। ४० वर्षपछि के–के नियमित जाँच गर्नुपर्छ? ४० वर्षपछि अत्यधिक डराएर जाँच गर्नु पर्दैन। अहिले चलिरहेको वर्षमा एकपटक हुने रुटिन स्वास्थ्य परीक्षण गरिरहनुपर्ने हुन्छ। यदि तपाईं ४० वर्ष पछि प्रिभेन्टिभ मोडमा हालिनुभयो भने ६० वर्ष पार गर्दा धेरै रोगहरू आउँदैनन्। यदि आए पनि त्यो समस्या ७५ देखि ८० वर्ष नजिकै देखिने सम्भावना हुन्छ। ५० देखि ६० वर्षका बीचमा नै रोगहरू पहिचान हुन थाल्छन् र त्यही उमेरका धेरै मानिसहरू नियमित औषधि खान थाल्छन्। ६० वर्ष पार गरेपछि रुटिन चेकअपका अतिरिक्त जेठा नागरिकहरूले विशेष जाँच समेत गराउनु आवश्यक हुन्छ। जस्तै दिमागी अवस्था कस्तो छ? फिजिकल अवस्था कस्तो छ? लड्ने डर छ कि छैन? अलि-अलि बिर्सिन थालिएको छ भने डिमेन्सिया त होइन भनेर जाँच गराउनु पर्छ। पोषण स्थिति कस्तो छ? खानपानले पर्याप्त पोषण पुर्याइरहेको छ कि छैन भनेर जाँच गर्नुपर्छ।
धेरैलाई लाग्छ, म त ठीक छु, किन जाँच गर्ने? मानसिक स्वास्थ्य जाँचलाई समाजमा ग्लानीको कुरा जस्तो लिन्छ। अस्पताल जान सहज लाग्छ तर मानसिक स्वास्थ्य सम्बन्धी परामर्श लिन मन पराउँदैनन्। यदि यस्तो सोच छ भने अहिले नै हटाउनुपर्छ। ६० वर्ष माथिका सबै व्यक्तिहरू नियमित रूपमा जाँच गराउनुपर्छ। जेरियाट्रिक सेन्टरहरूमा गएर विशेषज्ञहरूले जाँच गराउनुपर्छ। यसलाई सजिलो भाषामा भन्नुपर्दा, हामी बच्चालाई बालरोग विशेषज्ञ कहाँ लग्छौं भने वजन नाप्नुछ, मस्तिष्क विकास भएको छ कि छैन, टाउको नाप्नु पर्छ। ज्येष्ठ नागरिकको अवस्थामा पनि यस्तै हो। जेरियाट्रिक सेन्टर जाँदा विशेषज्ञहरूले वृद्धावस्थामा देखिने रोगहरू छ-छैन भनेर परीक्षण गर्छन् र परामर्श दिन्छन्। यदि हामी रोगले सताउँदा मात्र उपचार गर्ने हो भने जीवनको गुणस्तर राम्रो हुँदैन। त्यसैले आफैं सचेत भएर आजैदेखि स्वस्थ बुढ्यौलीका लागि तयारी सुरु गर्न आवश्यक छ।

