
नेपालकी पलेशा गोवर्धनले मङ्गोलियामा सम्पन्न ११औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा कांस्य पदक जितेकी छिन्। सेमिफाइनलमा इरानकी खेलाडीसँग पराजित भएपछि पलेशाको पदक कांस्यमै सीमित भएको प्रशिक्षक कविराज नेगी लामाले बताएका छन्। अन्य नेपाली खेलाडी अमिर ब्लोन र रेणु तामाङ पहिलो चरणमै पराजित भएका छन्।
११ जेठ, काठमाडौं। पलेशाले ११औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक हात पारेकी छिन्। मङ्गोलियाको उलानबटारमा आयोजित प्रतियोगिताको के–४४ श्रेणी अन्तर्गत महिला ५७ केजी तौल समूहमा पलेशाले यो सफलता प्राप्त गरेकी हुन्। पहिलो चरणलाई वाइज हुँदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्।
सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीभन्दा पराजित भएपछि उनको पदक कांस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्। के–४४ श्रेणीअन्तर्गत पुरुष ६३ केजी तौल समूहका अमिर ब्लोन र महिला ४७ केजी तौल समूहकी रेणु तामाङ पहिलो चरणमै पराजित भएका छन्। दुवै खेलाडी इरानी प्रतिस्पर्धीसँग पराजित भएका हुन्।
अब अमिर र रेणु उलानबटारमै मंगलबारदेखि हुने आईची–नागोया एसियाली पारा तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुनेछन्। यस प्रतियोगितामा विजेता र उपविजेताले एसियाली पारा तेक्वान्दोमा छनोट पाउनेछन्। पलेशा भने छनोट प्रतियोगितामा सहभागी नहुने कारण विश्व र्याङ्किङका आधारमा एसियाली पारा तेक्वान्दोमा पहिल्यै छनोट भइसकेकी छिन्।

