Skip to main content

भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र प्रहरी कार्यालयमा हाजिर हुन निर्देशन

१२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली र नेपाल पुलिस क्लबकी खेलाडी पुनम चन्दलाई नेपाल प्रहरीले सात दिनभित्र प्रहरी कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले २०८३ जेठ ११ गते एक सूचना जारी गर्दै पुनम चन्दसहित गैरहाजिर रहेका व्यक्तिहरूलाई आफ्नो गैरहाजिरीको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन भनिएको हो।
प्रहरी कार्यालयका अनुसार जवान पुनम चन्द २०८२ चैत १५ गतेदेखि कार्यालयमा गैरहाजिर छन्। प्रहरीले आफूखुशी कार्यालयमा उपस्थित नभएको र खोजतलास गर्दा तथा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस भइसकेपछि समेत उनको सम्पर्कमा नआएकाले सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
नेपाल भलिबल संघले काभा महिला भलिबल च्याम्पियनसिपका लागि राखेको बन्द प्रशिक्षणमा पुनमलाई समावेश गरे पनि उनी केही दिनपछि अस्ट्रेलिया गएकी थिइन्। हाल नेपाली महिला टोली घरेलु कोर्टमा काभा महिला भलिबल खेलिरहेको छ, तर पुनम टोलीमा छैनन्।