Skip to main content

मधेशको पर्यटन प्रवर्द्धनका लागि गण्डकी यात्रा सम्पन्न

मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले ‘घुमौं मधेश, बुझौं प्रदेश’ अभियान अन्तर्गत गण्डकी प्रदेशको भ्रमण गरेका छन्। यो यात्रा जेठ ८ गतेदेखि शुरु भएर सोमबार सम्पन्न भएको हो। जेठ २८ देखि ३१ गतेसम्म मधेशमा आयोजना हुने ‘मधेश टुरिजम मार्ट’मा गण्डकीका व्यवसायीलाई निमन्त्रणा गर्ने उद्देश्यले यो यात्रा गरिएको हो। भ्रमण टोलीले बन्दीपुर, पोखरा र सौराहाका स्थानीय व्यवसायीहरूसँग मधेशका पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने विषयमा छलफल गरेको छ।

नेपाल एशोसियन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिएका छन् कि नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको नेतृत्वमा ३५ जना व्यवसायीहरू गण्डकी यात्रामा सहभागी भएका थिए। यात्राको क्रममा गण्डकीका पर्यटन व्यवसायीहरूसँग सहकार्य गर्दै स्वदेशी र विदेशी पर्यटकहरूलाई मधेशका पर्यटकीय गन्तव्यसम्म लैजान सकिने सम्भावनाहरूमा पनि छलफल भएको महासंघका अध्यक्ष हिरा गौतमले बताए।

भ्रमण टोलीले बन्दीपुरमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा लगायत स्थानीय व्यवसायीहरूसँग अन्तर्क्रिया गरेको थियो। पोखरामा पोखरा भ्रमण वर्ष २०२५/२६ का संयोजक गोपीबहादुर भट्टराई र सौराहामा क्षेत्रीय होटल संघका उपाध्यक्ष गुणराज थपलियाको नेतृत्वमा स्थानीय व्यवसायीहरूसँग अन्तर–प्रदेश पर्यटन प्रवर्द्धन सम्बन्धि छलफल गरिएको थियो।

मधेशका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनका लागि आयोजना हुन लागेको मधेश टुरिजम मार्ट बाराको पर्सा राष्ट्रिय निकुञ्ज, धनुषाको जनकपुरधाम र सप्तरीको सखडा भगवतीलगायत स्थलहरूमा केन्द्रित रहने बताइएको छ। मार्टमा नेपालसहित भारतका विभिन्न शहरका होटल व्यवसायी, टुर्स अपरेटर र डिजिटल कन्टेन्ट क्रिएटरहरूलाई सहभागि गराउने योजना छ। नेपाल पर्यटन बोर्डको आयोजनामा, नाट्टा मधेश प्रदेशको संयोजन तथा विभिन्न स्थानीय तह र संघसंस्थाको सहकार्यमा आयोजना हुन लागेको मधेश टुरिजम मार्टले मधेश प्रदेशको पर्यटकीय गन्तव्य प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने नाट्टा मधेशका अध्यक्ष मोहन शर्माले बताएका छन्।