Skip to main content

नेपालले एसियन गेम्स क्रिकेट छनोटमा चीनलाई १९ रनले पराजित गर्‍यो

एसियन गेम्सको महिला क्रिकेट छनोटमा नेपालले पहिलो खेलमा चीनलाई १९ रनले हराएको छ। नेपालकी पूजा महतोले ६३ रनको महत्वपूर्ण अर्धशतक बनाएकी छन्। रिया शर्माले दुई विकेट लिए भने अन्य तीन बलरले एक-एक विकेट हात लगाएका छन्। १३ जेठ, काठमाडौं।

नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको टोली चीनले २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो। कप्तान झु मिङ्गेले सबैभन्दा बढी ३० रन बनाइन्। वान हुइङले २१ रन र वेइ हाइटिङले १८ रन जोडिन् भने लि जियापिङले १५ रन बनाइन्। कप्तान झु आउट हुँदा चीनको स्कोर १५.५ ओभरमा ९०/२ रहेको थियो। मनिषा उपाध्यायको बलिङमा झुको आउट भएपछि चीनको रन गति मन्द हुँदै गयो।

नेपालका लागि रिया शर्माले दुई विकेट लिए भने कविता कुँवर, मनिषा उपाध्याय र पूजा महतोले एक-एक विकेट हात पारे। मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनायो। पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रन बनाइन्। रुबी पोद्दार २२ रनमा नटआउट रहिन् र सोनी पाख्रिनले १८ रन जोडे। कविता कुँवरले ५, सम्झना खड्का र रुबिना क्षेत्रीले ४-४ रन बनाए। चीनका लागि मा रुइकेले २ विकेट लिए भने वान हुइङ र लिय जियापिङले १-१ विकेट लिए। प्रतियोगितामा भोलि नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।