Skip to main content

सदस्यता नवीकरणको नाममा कार्यकर्तामा डर सिर्जना गर्नु उचित होइन: प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले तोकेको मूल्य–मान्यता र आदर्शअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले पार्टीभित्र विशेष र नियमित महाधिवेशनका समर्थक दुई समूह देखिएपछि १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु आवश्यक रहेको बताए। कार्यकर्तामा सदस्यता नवीकरणको नाममा डर उत्पन्न नगर्न र प्रविधिको दुरुपयोग गरी प्रक्रिया उल्टाउने प्रवृत्ति रोक्न उनले चेतावनी दिएका छन्।

१४ जेठ, काठमाडौं। धनुषा क्षेत्र नं ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि यादवको श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधिको शासन स्थापना गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन्। उनले नेपाली कांग्रेसको नेतृत्वमा जारी वर्तमान संविधानको संरक्षण गर्दै जनताको इच्छा र आकांक्षा पुरा गर्न पार्टीले आफ्ना कमजोरीहरू सुधार गर्नुपर्ने बताए।

पार्टीको आन्तरिक विवाद र आउँदो १५ औं महाधिवेशनको विषयमा चर्चा गर्दै सिंहले हाल पार्टी दुई धारमा विभाजित रहेको उल्लेख गरे। विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधर गरी दुई समूह देखिएको हुँदा १५ औं महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउनु पर्नेमा उनले जोड दिए। यसका लागि दुवै पक्षको विश्वास जितेर साझा र भरपर्दो संयन्त्र बनाएर मात्र महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने उनका सुझाव छन्।

‘हाम्रा सम्मानित संस्थापक नेताहरूले जुन संस्कार र मूल्य–मान्यताका आधारमा कांग्रेस स्थापना गर्नुभयो, त्यसलाई जीवन्त राख्नु आजको मुख्य चुनौती हो,’ उनले भने, ‘१५ औं महाधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ वितरण सकिएपछि फेरि अद्यावधिक गर्ने नाममा कार्यकर्तामा डर र त्रास फैलाउनु उचित होइन।’ प्रविधिको प्रयोगको नाममा विधि र प्रक्रिया उल्लंघन गरी आफ्ना पक्षधरलाई मात्र स्थान दिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने चेतावनी उनले दिएका छन्। देशको वर्तमान राजनीतिक परिस्थिति र लोकतान्त्रिक प्रणालीमाथि भइरहेको चुनौतीहरूसँग सामना गर्न कांग्रेस एकजुट हुनुपर्ने उनको तर्क छ।