
१५ जेठ, सिरहा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा उक्त बजेट सार्वजनिक गरेका हुन् । बजेटले मधेश प्रदेशका पूर्वाधार, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन र खानेपानी क्षेत्रमा विशेष प्राथमिकता दिएको छ । मन्त्री वाग्लेका अनुसार मधेशका जिल्लाहरूमा रेल, रंगशाला, अस्पताल, सिँचाइ तथा पर्यटकीय विकासका योजनाहरूलाई उच्च प्राथमिकतामा राखिएको छ । सरकारले बर्दिबास–काठमाडौं द्रुतमार्ग जोड्ने रेलमार्ग विस्तारको काम अगाडि बढाउने घोषणा गरिसकेको छ । निर्माणाधीन बर्दिबास–विराटनगर रेलमार्गका लागि बजेट सुनिश्चित गरिएको छ भने जनकपुर–जयनगर–बर्दिबास रेलमार्गका बाँकी कामहरू पूरा गर्न पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।
खेलकुद पूर्वाधारमा सरकारले ४ अर्ब ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । मधेश प्रदेशमा प्रस्तावित ११औँ राष्ट्रीय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक पूर्वाधार निर्माण गरिनेछ । आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालाहरूलाई फ्लड लाइटसहित स्तरोन्नति गरिने उल्लेख बजेटमा गरिएको छ । त्यस्तै, विराटनगर, लहान, काठमाडौं, पोखरा, सुर्खेत तथा धनगढीमा कम्तीमा २ हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने छ । प्रमुख ८ शहरहरूमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला स्थापना गर्ने लक्ष्य पनि बजेटमा राखिएको छ ।
स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशस्थित नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाइनेछ । मधेश प्रदेशमै मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर बनाउने योजना सरकारले जनाएको छ । साथै, सरकारी अस्पतालहरूमा बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने घोषणा गरिएको छ । कृषिमा सिरहा–सप्तरीको आँप तथा सर्लाहीको गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने योजना छ । सतह सिंचाइ नपुगेका तराई–मधेशका ३ हजार ९८० हेक्टर खेतीयोग्य भूमिमा भूमिगत सिंचाइ विस्तार गर्न १ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
तराई–मधेशको जलचक्रलाई दिगो बनाउनका लागि पानीका स्रोत संरक्षण, पोखरी निर्माण, पहिरो नियन्त्रण र तटबन्ध निर्माणका कार्यक्रमहरू सञ्चालन गर्न करिब १ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । खानेपानी क्षेत्रमा सुख्खा समयमा हुने चरम अभाव समाधान गर्न सामुदायिक स्तरमा डिप बोरिङ सहितका खानेपानी आयोजना विस्तार गरिने छ । ‘आर्सेनिक मुक्त तराई अभियान’ पनि सञ्चालन गर्ने योजना छ । अधुरा रहेका २८० खानेपानी आयोजना पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । पर्यटन तथा सांस्कृतिक क्षेत्रमा जनकपुरधामलाई विश्व सम्पदा सूचिमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाइनेछ । जनकपुरलाई ‘विवाह गन्तव्य’ का रूपमा विकास गरी ब्रान्डिङ गर्ने सरकारको योजनामा राखिएको छ । रामजानकी पथ र रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि समेत बजेट छुट्याइएको मन्त्री वाग्लेले बताए । साथै, सप्तरीको सखडा, धनुषाधाम र गढ़ीमाई क्षेत्रहरूलाई प्रादेशिक करिडोरका रुपमा विकास गरिने उल्लेख बजेटमा छ । मधेशका दलित र विपन्न बस्तीसम्म नमुना होमस्टे सञ्चालन गर्ने योजना पनि समावेश गरिएको छ ।






