Skip to main content

संविधानविद् अधिकारीको विश्लेषण: चितुवा बजेट

१५ जेठ, काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटलाई ‘चितुवा बजेट’ भनेर मूल्याङ्कन गरेका छन्। उनले यो बजेट तीव्र, फुर्तिलो, साहसी र ठूलो प्रगतिको आकांक्षा बोकेको बताएका छन्। डा. अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बजेट सुधारमुखी, प्रविधिमुखी र निजी क्षेत्रलाई आश्वस्त पार्ने लागि गरिएको आक्रामक प्रयास हो।’

अधिकारीले थपे, ‘यस बजेटको सबल पक्ष भनेको कर प्रणाली सरलीकरण, प्रशासनिक पुनर्संरचना, सार्वजनिक खर्च कटौती, लगानी सहजीकरण, ऊर्जा, एआई प्रविधि, कृषि पुनरुत्थान, स्वास्थ्य बीमा, शिक्षा सुधार र पूर्वाधारलाई एउटै ‘सुधार प्याकेज’को रूपमा प्रस्तुत गर्नु हो।’ बजेटले ठूलो खर्चबर्चको प्रतिबद्धता जनाएको हुँदा ऋण तथा घाटाबाट यसलाई पूरा गर्नुपर्ने आवश्यकतालाई पनि उनले औंल्याएका छन्।

बजेट सफल बनाउन राजस्व अनुमान यथार्थपरक हुनुपर्ने, पूँजीगत खर्च समयमै कार्यान्वयन गर्न सकिनुपर्ने र घोषणाबद्ध कानुनी तथा संस्थागत सुधारहरू यसै वर्षभित्र सार्थक रूपमा लागू हुनुपर्ने डा. अधिकारीको निष्कर्ष छ। उनले भने, ‘कार्यान्वयन, स्रोत व्यवस्थापन र खर्च अनुशासनको हिसाबले यो बजेट चुनौतीपूर्ण देखिन्छ। यसमा दिशाहीनता छैन। यस बजेटले महत्वाकांक्षा बोकेको सुधारवादी दिशा लिएको छ।’ तर, उनले थपे, ‘हाम्रो कमजोर प्रशासनिक क्षमताले गर्दा यो घोषणामूलक बजेटमा सीमित हुने जोखिम पनि देखिन्छ।’ उनका अनुसार तीव्र गति, आक्रामक सुधार र ठूलो प्रगतिको आकांक्षा बोकेको यो बजेट सफल हुन कार्यान्वयनमा कडा अनुशासन अनिवार्य छ।