Skip to main content

फिजिकल फिटनेस सेन्टरले जिल्ला स्तरीय डोरी तान प्रतियोगितामा उपाधि जित्यो

बुटवलमा सम्पन्न दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगितामा फिजिकल फिटनेस सेन्टरले उपाधि हासिल गरेको छ। विजेताले नगद ६० हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने उपविजेता बुटवल फिटनेसले ३० हजार ३३३ रुपैयाँ पुरस्कार पाएको छ। महासंघका अध्यक्ष समुन्द्र श्रेष्ठले लोपोन्मुख खेललाई संरक्षण र विकास गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिएका छन्। १६ जेठ, बुटवल।

शनिवार रामनगर खेल मैदानमा सम्पन्न फाइनलमा फिजिकल फिटनेस सेन्टरले बुटवल फिटनेसलाई २–० सेटको सोझो जितसहित पराजित गर्दै निरन्तर दोस्रोपटक च्याम्पियन बनेको हो। उपाधिसँगै फिजिकल फिटनेस सेन्टरले नगद ६० हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बुटवल फिटनेसले ३० हजार ३३३ रुपैयाँ र तृतीय स्थानमा रहन सफल योर्स मल्टि फिटनेसले १५ हजार १११ रुपैयाँ नगद पुरस्कार पाएको छ।

विजयी टोलीलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य तथा प्रतियोगिता संयोजक सरोज क्षेत्रीले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका छन्। प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएको महासंघका सदस्य इप्पल भण्डारीले जानकारी दिएका छन्।