
मलेसियामा जारी एसियन गेम्स छनोटमा तेस्रो स्थानका लागि नेपाली महिला क्रिकेट टोली आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ। सिंगापुरमा हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली पुरुष क्रिकेट टोलीले आइतबार चीनको सामना गर्नेछ। महिला टोलीले चीनलाई पराजित गरे एसियन गेम्समा तेस्रो स्थानका लागि छनौट हुनेछ भने पुरुष टोली पनि छनोटको लक्ष्यमा छ। १६ जेठ, काठमाडौं। नेपाली पुरुष र महिला क्रिकेट टोलीले आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछन्। यी दुवै खेल एसियन गेम्स छनोटअन्तर्गतको हुन् र बिहान करिब सवा ७ बजे सुरु हुनेछन्। महिला क्रिकेट टोली मलेसियामा जारी छनोट प्रतियोगितामा तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो। आजको सेमिफाइनलमा मलेसियासँग पराजित भएपछि नेपालले तेस्रो स्थानका लागि खेल्ने अवसर पाएको छ। नेपाली महिला टोलीले चीनलाई पराजित गरे एसियन गेम्समा तेस्रो स्थान पक्कापक्की गर्नेछ। चीनलाई हराएको थाइल्यान्ड र नेपाललाई हराएको मलेसिया फाइनलमा पुगेका छन् र तिनीहरू पनि एसियन गेम्सका लागि छनोट भइसकेका छन्। त्यस्तै, पुरुष क्रिकेट टोलीले सिंगापुरमा हुने छनोट प्रतियोगिताको पहिलो खेलमै चीनसँग प्रतिस्पर्धा गर्न लागेको छ। नेपाल समूह ‘ए’ मा चीन र मलेसियासँग एकै समूहमा परेको छ भने समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन्। समूहका शीर्ष दुई टोलीहरूले सेमिफाइनलमा प्रवेश गर्नेछन् र एसियन गेम्सका लागि छनोट हुनेछन्।






