Skip to main content

मेस्सी अर्बपति फुटबलर बने, रोनाल्डोपछि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी

लियोनल मेस्सी आधिकारिक रूपमा अर्बपति फुटबलर बनेका छन्। उनी यो उपलब्धि हासिल गर्ने क्रिस्टियानो रोनाल्डोपछि दोस्रो खेलाडी हुन्। सन् २००७ यता तलब, बोनस र व्यावसायिक सम्झौताबाट मेस्सीको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ।

ब्लुमबर्गको विश्लेषणअनुसार, ३८ वर्षीय मेस्सीले सन् २००७ यता तलब र बोनसबाट मात्रै ७० करोड अमेरिकी डलरभन्दा बढी कमाइसकेका छन्। कर, लगानी र विभिन्न व्यावसायिक सम्झौताबाट प्राप्त रकम जोड्दा उनको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ। हालै मेस्सीले स्पेनको पाँचौँ डिभिजनको क्लब कोर्नेला खरिद गरेर नयाँ मालिक बनेका थिए।

हाल अमेरिकाको क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले मैदानबाहिर पनि विभिन्न लगानी र ब्रान्ड साझेदारीमार्फत आफ्नो सम्पत्ति बढाएका छन्। सन् २०२३ मा साउदी क्लब अल नासरमा गएपछि रोनाल्डो अर्बपति फुटबलर बनेका थिए।

अमेरिकामा मेस्सीको लोकप्रियता थप बढेको छ। सन् २०२६ को फिफा विश्वकपको तयारी भइरहेका बेला अमेरिकाको न्यु जर्सी राज्यस्थित बर्कले हाइट्स नगरले एउटा सडकको नाम ‘लियो मेस्सी वे’ राखेको छ। करिब १३ हजार जनसंख्या रहेको बर्कले हाइट्सले फुटबलमा मेस्सीको योगदानको सम्मानस्वरूप शर्मन एभिन्यूको एक खण्डलाई ‘लियो मेस्सी वे’ नाम दिएको हो। सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सी अहिले अमेरिकाकै फुटबल संस्कृतिमा पनि प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित भएका छन्।