
भारतमा जारी ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटको दोस्रो खेलमा नेपाल ए टोली गोवासँग ३ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले निर्धारण गरिएका ३४ ओभरमा ९ विकेट गुमाएर २१० रन बनाएको थियो। नेपालका तृतराज दासले १०४ रन बनाएका थिए भने गोवाले २११ रनको लक्ष्य ७ विकेट गुमाएर पूरा गर्यो।
१७ जेठ, काठमाडौं। भारतको उत्तराखण्डमा जारी ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेट प्रतियोगितामा नेपालको ए टोलीले आफ्नो दोस्रो खेलमा पनि पराजय भोगेको छ। ३४ ओभरमा सङ्कुचित खेलमा नेपाल ए टोली गोवासँग ३ विकेटले पराजित भएको हो। नेपालले दिएको २११ रनको लक्ष्य गोवाले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो। गोवाका खेलाडी वीर यादवले ८० रन जोडे। ललित यादवले ४२ र स्नेहल कौथनकरले २३ रनको योगदान दिए। अभिनव तेज र दीपराज गावन्करले समान १६ रन बनाए।
पहिले ब्याटिङ गर्दै टस हारेको नेपाल ए ले निर्धारित ३४ ओभरमा ९ विकेट गुम्दै २१० रन बनाएको थियो। तृतराज दासले ८६ बल खेलेर १०४ रनको उत्कृष्ट पारी खेले। अर्जुन कुमालले ५३ रन बनाए। बसिर अहमद १९ रनमा नटआउट रहे भने राशिद खानले १४ रनको योगदान दिए। गोवाका दीपराज गावन्करले ६ विकेट लिए। बी. कौशिक र ललित यादवले १-१ विकेट लिए। नेपाल टिम यसअघिको पहिलो खेलमा केरलासँग पराजित भइसकेको थियो।






