Skip to main content

गोल्डेन बुटका प्रमुख दाबेदारहरू

फिफा विश्वकप २०२६ मा पहिलो पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्, जसले गर्दा नकआउट चरणमा नयाँ खेलहरू थपिएका छन्। यस पटकको विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्ने होडमा ह्यारी केन, किलिएन एमबाप्पे र लियोनेल मेस्सी मुख्य दाबेदार रहेका छन्। म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड पहिलो पटक र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने तयारीमा छन्। १८ जेठ, काठमाडौं। फिफा विश्वकप २०२६ सुरु हुन अब एक साता र केही दिन मात्र बाँकी रहँदा यसको रौनक अझै बढ्दैछ। विश्वकपको उपाधि कसले जित्ला भनेजस्तै फुटबलको महाकुम्भमा सर्वाधिक गोल कसले गर्ला? कुन खेलाडीले गोल्डेन बुट जित्ला भन्ने चासो पनि उत्तिकै छ। विश्वकपमा पहिलो पटक ४८ राष्ट्रहरूले प्रतिस्पर्धा गर्दैछन्। अहिलेसम्मकै ठुलो विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्ने होड पनि निकै प्रतिस्पर्धात्मक हुने सम्भावना छ। यस पटक टिम संख्या बढ्दा नकआउट चरणमा राउण्ड अफ ३२ पनि थपिएको छ। जसले गर्दा नकआउट पुग्ने टिमले एक खेल बढी खेल्नेछन्। त्यसमा गोलको संख्या पनि बढ्न सक्छ भने व्यक्तिगत रूपमा पनि खेलाडीहरूलाई गोल संख्या बढाउने अवसर हुनेछ। पछिल्लो विश्वकपहरूमा गरेको प्रदर्शन, क्लब फुटबलमा देखिएको लक्ष्य, विश्वकप छनोटमा गरेको प्रदर्शन र विश्वकपमा हुने खेलहरूको अवस्थालाई लिएर आउने विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्न सक्ने खेलाडीको बारेमा चर्चा गरिएको छ।

गोल्डेन बुटका ५ बलिया दाबेदारहरूमा ह्यारी केन (इङ्गल्याण्ड) रहेका छन्। ह्यारी केनले सन् २०१८ मा रुसमा भएको फिफा विश्वकपमा गोल्डेन बुट जितेका थिए। तर सन् २०२२ मा कतारमा भएको विश्वकपमा भने उनले जम्मा २ गोल गर्दा ३ असिस्ट गरे। अहिले फेरि क्लब फुटबलमा गोल मेसिनको रुपमा छाएका इंग्ल्यान्डका यी कप्तान तथा फरवार्ड पिफा विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्ने दाबेदार खेलाडीको रुपमा छन्। जर्मन क्लब बायर्न म्युनिखबाट बुण्डेसलिगा खेल्दै आएका केनले २०२५-२६ को सिजनमा सानदार प्रदर्शन गरे। उनले बुण्डेलसलिगामा बायर्नका लागि ३१ खेलमा ३६ गोल गरे। यस्तै च्याम्पियन्स लिगमा बायर्नलाई सेमिफाइनल पुर्याउँदा १४ गोल गरेका थिए। केनले सबैखाले प्रतियोगितामा गरी ५५ खेलमा कूल ६१ गोल गर्दै ७ असिस्ट समेत गरे। उनी यतिबेला युरोपियन फुटबलकै सबैभन्दा घातक स्ट्राइकर हुन्। यदि यो लय उनले राष्ट्रिय टिमका लागि पनि कायम राख्न सके, विश्वकपमा केनले धेरै गोल गर्न सक्छन्। इंग्ल्यान्डले समूह एलमा क्रोएसिया, घाना र पनामासँग खेल्नेछ। इंग्ल्यान्डको नकआउट प्रवेशको सम्भावना धेरै छ। यदि केनले टिमलाई अगाडिसम्म लिएर गएमा उनी आफैं पनि गोल्डेन बुटको दाबेदारको रूपमा अघि रहनेछन्।

किलियन एम्बाप्पे (फ्रान्स) पनि प्रमुख दाबेदारमा रहेका छन्। फ्रान्सका कप्तान तथा फरवार्ड किलिएन एमबाप्पेले पछिल्लो पटक सन् २०२२ मा कतार विश्वकपमा सर्वाधिक ८ गोल गर्दे गोल्डेन बुट जितेका थिए। क्लब र राष्ट्रिय टिमको लय हेर्दा एमबाप्पे यस पटक पनि गोल्डेन बुट जित्न सक्ने सूचीमा अघि छन्। चार वर्षअघि उनले फाइनलमा अर्जेन्टिना विरुद्ध ह्याट्रिक गरेका थिए। यसले पनि एमबाप्पे गोल गर्न कति माहिर छन् भन्ने देखाउँछ। क्लब फुटबलमा एमबाप्पेले रियल मड्रिठका लागि २०२५/२६ सिजन सबैखाले प्रतियोगिताहरूमा ४२ गोल गरेका थिए। उनी अहिले विश्वकै सबैभन्दा घातक स्ट्राइकरका रूपमा छन्। तर चोटका कारण उनलाई केही सताएको छ। समूह आईमा रहेको फ्रान्सले सेनेगल, नर्वे र इराकसँग खेल्नेछ। २ पटकको विश्व विजेता फ्रान्स नकआउट चरणमा पुग्नेमा कुनै शंका छैन। यसले पनि एमबाप्पे गोल्डेन बुटको दाबेदारमा अघि छन्।

एर्लिङ हालान्ड (नर्वे)ले पनि गोल्डेन बुटका लागि प्रतिस्पर्धा गर्दैछन्। एर्लिङ हालान्डले मात्र नभई विश्व फुटबलका धेरैले उनलाई विश्वकपमा हेर्न प्रतिक्षा गरिरहेका छन्। क्लब फुटबलमा गोल मेसिनको छवि बनाएका हालान्ड पहिलो पटक विश्वकप खेल्दैछन् र उनको चर्चा पनि स्वभाविक रुपमा बढिरहेको छ। प्रिमियर लिगमा म्यानचेस्टर सिटीबाट खेल्दै भर्खरै सकिएको सिजनमा उनले गोल्डेन बुट जितेका छन्। यस्तै च्याम्पियन्स लिगमा उनले १० खेलमा ८ गोल गरेका थिए भने समग्रमा ५२ खेलमा ३८ गोल र ९ असिस्ट गरेका थिए। साथै फिफा विश्वकप २०२६ को छनोट चरणमा हालान्डले सर्वाधिक १६ गोल समेत गरेका थिए। २८ वर्षपछि फिफा विश्वकपमा पर्केको नर्वेको यात्रा कति अगाडि बढ्छ त्यो धेरै हदसम्म हालान्डमै टिकेको हुन्छ।

लियोनेल मेस्सी (अर्जेन्टिना)को बारेमा खासै धेरै भनिरहनु पर्दैन। सन् २०२० मा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउने टिमका कप्तान, उत्कृष्ट खेलाडी। मेजर लिग सकर (एमएलएस) मा इन्टर मायामीमा आफ्नो जादु देखाइरहेका ३८ वर्षीय मेस्सी अझै पनि आफ्नो राष्ट्रिय टिमका लागि मुख्य गोलकर्ता बन्न सक्छन्। मेसीले दुई पटक फिफा विश्वकपमा गोल्डेन बल अवार्ड जितेपनि गोल्डेन बुट भने जित्न सकेका छैनन्। पछिल्लो पटक कतरामा विश्वकप जित्दा ७ गोल गरेका मेसी एमबाप्पे भन्दा पछि दोस्रो स्थानमा थिए। मेस्सीले आफ्नो अन्तिम विश्वकप खेलिरहेकोले पनि उनी यसलाई अझ यादगार बनाउन चाहन्छन्।

भिनिसियस जुनियर (ब्राजिल) पनि गोल्डेन बुटका दाबेदारमा रहेका छन्। सर्वाधिक ५ पटकको विश्वकप विजेता ब्राजिलले उपाधि नजितेको पनि २४ वर्ष भइसकेको छ। चोटसँग संघर्ष गरिरहेका नेमार चौथो पटक विश्वकपका लागि टिममा परेपनि फरवार्ड लाइनमा मुख्य जिम्मेवारी भिनिसियसकै हुन सक्छ। उनले गत सिजन सबैखाले प्रतियोगितामा गरेर २२ गोल गरेका थिए।

अन्य दाबेदार माथि चर्चा गरिएका पाँच खेलाडी बाहेक पनि फिफा विश्वकपमा सर्वाधिक गोल गर्न सक्ने खेलाडीहरूको सूची लामो छ। त्यसका पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो देखि स्पेनका युवा स्टार लामिन यमालसम्म छन्।