Skip to main content

वैदेशिक रोजगारीको नाममा करोडौं ठगी, पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूले क्रोएसिया, सर्बिया, अमेरिका र कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट १ करोड ९ लाख ६३ हजार रुपैयाँ ठगी गरेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

१८ जेठ, काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिन्छु भनी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्णकुमार खड्का, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौँ महानगरपालिका–६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० बस्ने झापा घर भएकी ४७ वर्षीया निशा सिवालाई पक्राउ गरिएको हो।

अभियुक्त मध्ये कृष्णकुमार र भागिरथीले क्रोएशिया, ग्रीसलगायत देश पठाइदिने भन्दै १४ जना पीडितबाट रु ५८ लाख ६८ हजार ठगी गरेको आरोप छ। प्रवेशले सर्बिया पठाइदिने भन्दै चार जना पीडितबाट रु १८ लाख ९० हजार, प्रज्वलले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट रु ३१ लाख र निशाले कोरिया पठाइदिने भन्दै अर्का एक जना पीडितबाट रु एक लाख पाँच हजार लिएर सम्पर्क विहीन भएको उजुरी परेको थियो। पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।