
पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेसले आर्मेनियाविरुद्ध ह्याट्रिक गर्दै टोलीलाई ९–१ को ठूलो जित दिलाएर सन् २०२६ को विश्वकपमा स्थान सुनिश्चित गराएका छन्। म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेसले जनवरी २०२० देखि क्लबमा आवद्ध भई १०० भन्दा बढी गोल र १०० भन्दा बढी असिस्ट पुरा गरेका छन्। कतार विश्वकप २०२२ मा शानदार प्रदर्शन गरेका ३१ वर्षीय फर्नान्डेसबाट पोर्चुगलले आगामी विश्वकप २०२६ मा पनि ठूलो आशा राखेको छ। १९ जेठ, काठमाडौं।
ब्रुनो फर्नान्डेस फुटबललाई अत्यन्त तीव्र गतिमा बुझ्ने खेलाडी हुन्। मैदानमा रहेका अन्य खेलाडीभन्दा उनी सँधै केही सेकेन्ड अगाडि सोचिरहेको जस्तो देखिन्छन्। अथक मेहनत, प्राविधिक दक्षता र नेतृत्व गुणका कारण म्यानचेस्टर युनाइटेडका कप्तान र पोर्चुगलका खेल संयोजक फर्नान्डेस अहिले विश्व फुटबलका प्रभावशाली मिडफिल्डर मध्ये एकका रूपमा स्थापित भएका छन्। इङ्गल्याण्डको म्यानचेस्टर युनाइटेडबाट होस् वा पोर्चुगलको राष्ट्रिय टोलीबाट, उनले सधैं आफ्नो प्रभाव देखाउँदै आएका छन् र फिफा विश्वकप २०२६ मा पनि पोर्चुगलले उहाँबाट ठूलो अपेक्षा राखेको छ।
उनको फुटबल यात्रा प्रारम्भिक चरणबाट हेर्दा उनले बोअभिस्टा युवा टोलीबाट सुरु गरेका थिए। त्यसपछि उनले इटालीका नोभारा, उडिनेजे र साम्पडोरियासँग खेल्दै अनुभव सङ्कलन गरे। तर उनको वास्तविक उदय स्पोर्टिङ सिपीबाट भयो। नानी क्लब छाडेपछि उनले टोलीको कप्तानी सम्हाले र लगातार दुई सिजन क्लबको सबैभन्दा बढी गोल गर्ने खेलाडी बने। उनले २०१७–१८ र २०१८–१९ मा लगातार पोर्चुगलका उत्कृष्ट फुटबलरको अवार्ड पनि जिते। स्पोर्टिङका लागि उनले १३७ खेलमा ६३ गोल र ५० असिस्ट पूरा गरे, जुन कुनै पनि मिडफिल्डरका लागि असाधारण प्रदर्शन हो।
ब्रुनोले पोर्चुगलबाट सन् २०१८ को विश्वकप, २०२२ को विश्वकप, युरो २०२० र युरो २०२४ खेलेका छन्। २०१८–१९ र २०२४–२५ मा युएफए नेसन्स लिग जित्ने पोर्चुगल टोलीका सदस्य पनि थिए। ब्रुनो असाधारण दृष्टिसम्पन्न खेलाडी हुन्। विपक्षी रक्षापंक्ति बीचबाट कठिन पास निकाल्ने उनको क्षमता विशेष छ। उनी आक्रमणका अवसर सिर्जना गर्न माहिर छन् भने टाढाबाट गोल गर्नुमा पनि अत्यन्त कुशल छन्।
उनको योगदान मात्र तथ्यांकमा सीमित छैन। उनी मैदानमा प्रेरणादायी नेतृत्व प्रदान गर्छन्। टोलीका साथीहरूलाई सही स्थानमा राख्न निर्देशन दिनु, खेलको गतिशीलता बढाउन प्रोत्साहित गर्नु र चुनौतीपूर्ण समयमा जिम्मेवारी लिनु उनको मुख्य विशेषता हो। प्रशिक्षक रोबर्टो मार्टिनेजले ब्रुनोलाई युनाइटेडका इतिहासकै उत्कृष्ट खेलाडीहरूमध्ये एक घोषणा गरेका छन्।
ब्रुनो २०२० देखि म्यानचेस्टर युनाइटेडमा आवद्ध हुँदा २०० भन्दा बढी गोलमा प्रत्यक्ष संलग्न भएका छन्। १ मार्च २०२६ सम्ममा उनले १०५ गोल र १०० असिस्ट पुरा गरेका छन्। गत प्रिमियर लिग सिजनमा उनले सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी पनि बने। पोर्चुगलको लागी उनले ८५ खेलमा २८ गोल गरेका छन्। विश्वकप २०२६ छनोटको अन्तिम खेलमा आर्मेनियाविरुद्ध ह्याट्रिक गर्दै पोर्चुगललाई ९–१ को विजयी बनाएर विश्वकपमा स्थान सुनिश्चित गरेको थियो।
ब्रुनोले सन् २०१८ को रसियाको विश्वकपमा विश्वकप डेब्यु गरेका थिए। कतार विश्वकप २०२२ मा पनि उनी पोर्चुगलका महत्वपूर्ण खेलाडी थिए। यदि उनले प्रिमियर लिगमा देखाएको प्रभाव विश्वकपमा पनि देखाउन सके, ब्रुनो पोर्चुगलको खेलको सबैभन्दा ठूला शक्ति बन्न सक्छन्।





