
फिफा विश्वकप २०२६ का लागि स्पेनिस टोलीको जर्सी नम्बर सार्वजनिक भएको छ। युवा स्टार लामिन यमालले १० नम्बर जर्सी पाएका छैनन्, उनले १९ नम्बर जर्सी लगाउनेछन्। बार्सिलोनाबाट यस सिजनदेखि १० नम्बर जर्सी लगाउन थालेका यमालले स्पेनको राष्ट्रिय टोलीमा भने आफ्नो परिचित १९ नम्बर जर्सी नै लगाउनेछन्। दुई वर्षअगाडि यिनले स्पेनलाई युरोपियन च्याम्पियन बनाउन सहयोग पुर्याउँदा पनि १९ नम्बरको जर्सी लगाएका थिए।
स्पेनको प्रतिष्ठित १० नम्बर जर्सी डानी ओल्मोले लगाउनेछन्। टोली घोषणा भएपछि सामाजिक सञ्जालमार्फत ओल्मोले यसबारे संकेत समेत गरेका थिए। यता गाभीले ९ नम्बर जर्सी पाएका छन्। करिब एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका गाभीले आफ्नो पुरानो जर्सी नम्बर फेरि प्राप्त गरेका हुन्।
स्पेन समूह ‘एच’ मा रहेको छ र १५ जुनमा केप भर्डेविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि साउदी अरेबिया र उरुग्वेसँग खेल्नेछ। सन् २०१० मा पहिलोपटक विश्वकप उपाधि जितेको स्पेनले दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ।






