
फिफाले सन् २०२६ को विश्वकपका लागि सहभागी ४८ राष्ट्रका १,२४८ खेलाडीहरूको अन्तिम सूची सार्वजनिक गरेको छ। यस पटकको विश्वकपमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले ऐतिहासिक रूपमा पहिलो पटक प्रतियोगितामा डेब्यु गर्दैछन्। अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो कीर्तिमानी छैटौँ पटक विश्वकपमा खेल्ने तयारीमा छन्। १९ जेठ, काठमाडौं। फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा कुन राष्ट्रका खेलाडीले खेल्नेछन् भन्ने विषयमा धेरै चासो र जिज्ञासा थियो। तर अहिले फिफाले विश्वकप खेल्ने ४८ राष्ट्रका अन्तिम टोलीको सूची सार्वजनिक गरेपछि त्यो जिज्ञासा समाप्त भएको छ। २३औं संस्करणको फिफा विश्वकप जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ। विश्वकप सुरु हुन ९ दिन मात्र बाँकी रहँदा सबै ४८ राष्ट्रका अन्तिम टोलीका खेलाडीहरूको सूची सार्वजनिक गरिएको छ। यस सूचीले प्रतियोगिताका सबैभन्दा रोचक माइलस्टोनमध्ये एकलाई प्रतिनिधित्व गरेको फिफाले जनाएको छ।
पहिलो पटक तीन राष्ट्रमा आयोजना हुन लागेको फिफा विश्वकपमा अहिलेसम्मकै सबैभन्दा धेरै १०४ खेल हुनेछन्। यसमा पहिलोपटक ४८ राष्ट्र विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् भने कूल १,२४८ खेलाडीहरू यस विश्वकपका लागि अन्तिम टोलीमा छनोट भएका छन्। विश्वकपको यो संस्करण विश्व फुटबलको लागि एक ऐतिहासिक मोड हो र यसले पहिलेभन्दा धेरै राष्ट्र, खेलाडी र प्रशंसकहरूका लागि नयाँ अवसरहरू खोल्ने फिफाले उल्लेख गरेको छ। ४८ राष्ट्रको अन्तिम टोलीको सूचीले प्रतियोगिताको विशालता र स्थायी आकर्षणलाई बलियो बनाउनेछ। फिफाका अनुसार, यस पटक कम्तीमा एक पटक फिफा विश्वकप खेलेका ३५७ खेलाडी पुनः विश्वकपमा खेल्न आएका छन् भने ८९१ खेलाडीहरू पहिलो पटक विश्वकपको अनुभव लिन तयार छन्।
यस विश्वकपमा सहभागी खेलाडीहरूको उमेरमा पनि धेरै फरक देखिन्छ। विश्वकपका टोलीमा सबैभन्दा जेठो खेलाडी स्कटल्याण्डका क्रेग गोर्डन (४३ वर्ष १६२ दिन) र सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका गिल्बर्टो मोरा (१७ वर्ष २४० दिन) छन्, जसबीच २५ वर्षभन्दा बढी उमेर अन्तर छ। प्रतियोगिताको सुरुमा २० वर्षभन्दा कम उमेरका २२ खेलाडी र ४० वर्ष वा सोभन्दा बढी उमेरका ७ खेलाडी मैदानमा उत्रन सक्छन्। यस पटकको विश्वकपमा सामेल खेलाडीहरूको सूचीले आधुनिक फुटबलको विश्वव्यापी स्वरूपलाई पनि स्पष्ट रुपमा देखाएको छ। फिफा विश्वकप २०२६ मा विश्वका ७१ देशका ४४९ विभिन्न क्लबहरूका खेलाडीहरू प्रतिनिधित्व गर्दैछन्। यिनीहरूमा एसियाबाट १४, अफ्रिकाबाट ६, कन्काकाफबाट ७, कोन्मेबोलबाट ८, ओसियानाबाट १ र युरोपबाट ३५ क्लबका खेलाडीहरू छन्।
फुटबलको यस प्रतिष्ठित प्रतियोगितामा स्थापित स्टारहरूको फर्किएसँगै चार नयाँ राष्ट्रले विश्वकपमा डेब्यु गर्न लागेका छन्। केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक फिफा विश्वकपमा प्रतिस्पर्धा गर्दैछन्। यस पटकको मुख्य आकर्षण उज्बेकिस्तानको विश्वमञ्चमा ऐतिहासिक पहिलो उपस्थिती हो, जहाँ म्यानचेस्टर सिटीका अब्दुकुदिर खुसानोभ जस्ता प्रतिभाशाली युवा खेलाडीहरूले देशको सपना पूरा गर्दैछन्। अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआ समेत कीर्तिमानी छैटौँ पटक फिफा विश्वकप खेल्न तयार छन्। मेसी र रोनाल्डोले छैटौँ पटक विश्वकप खेल्ने विश्वकीर्तिमान बनाउने अभियानमा छन्।
प्रशिक्षकको क्षेत्रमा, घानाका पोर्चुगिज प्रशिक्षक कार्लोस क्विरोज लगातार पाँचौं पटक फिफा विश्वकपमा प्रशिक्षकको रूपमा सहभागी हुँदैछन्। उनले २०१० मा पोर्चुगल, र २०१४, २०१८ तथा २०२२ मा इरानको नेतृत्व गरिसकेका छन्। फिफा विश्वकप २०२६ खेल्ने सबै ४८ राष्ट्रले जुन १ सम्म आफ्नो अन्तिम टोली फिफामा बुझाइसकेपछि मंगलबार फिफाले सम्पूर्ण टोलीहरूको सूची सार्वजनिक गरेको हो।






