
मलेसियामा भइरहेको एसीसी महिला प्रिमियर कपमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गर्यो। कतारले दिएको ७७ रनको लक्ष्य नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् भने पूजा महतोले अविजित २८ रन बनाइन्। कप्तान इन्दु बर्मा ६ रनमा अविजित रहिन्।
कतारका लागि शाहरीनवाब खान र खादिजा अमदले १-१ विकेट लिए। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको थियो। कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाइन् भने कप्तान आइशाले १० रन बनाइन्। नेपालका लागि रुबिना क्षेत्रीले ३ विकेट लिइन्। कविता कुँवर, पूजा महतो र रिया शर्माले १-१ विकेट लिए। कतारका ४ ब्याटर रनआउट भएका थिए। नेपालले अब बिहीबार दोस्रो खेलमा भुटानसँग खेल्नेछ।






