
नेप्से परिसूचक २.६६ अंकले बढेर २७८० अंकमा पुगेको छ भने सेयर कारोबार रकम ५ अर्ब ७३ करोड पुगेको छ। बजेटले तेस्रो पक्षको बीमांक रकम दोब्बर गरेपछि निर्जीवन बीमा समूहको सूचक ३.३७ प्रतिशतले वृद्धि भएको छ। कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशत वृद्धि हुँदा नेपाल पुनर्बीमाको मूल्य ५.१८ प्रतिशतले घटेको छ।
अघिल्लो दिन २२.२१ अंकले बढेको सेयर बजार बुधबार २.६६ अंकले मात्र बढेको छ। यस वृद्धिपछि नेप्से परिसूचक २७८० अंकमा कायम भएको छ। बजार दिनभर हल्का उतार-चढावमा रह्यो। १४९ कम्पनीको मूल्य बढ्दा ११६ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीमा स्थिरता देखिएको छ। कारोबार रकममा वृद्धि भएको छ। अघिल्लो दिनको ५ अर्ब २६ करोडको तुलनामा आज ५ अर्ब ७३ करोडको कारोबार भएको छ।
अघिल्लो दिन वित्त समूह उत्साहित देखिएको थियो र ६ प्रतिशतले वृद्धि भएको थियो। आज भने निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण बढेको छ। यो समूह आज ३.३७ प्रतिशतले वृद्धि भएको छ। यस वृद्धि संगै निर्जीवन बीमा समूह वैशाख २ यताकै उच्चतम बिन्दुमा पुगेको छ। बजेटले तेस्रो पक्षको बीमांक रकम दोब्बर गरी १० लाख पुर्याएको छ, जसले निर्जीवन बीमा व्यवसायमा वृद्धि हुने विश्वास हुनुका साथै लगानीकर्ताको आकर्षण बढेको हो।






