Skip to main content

नेपालले मलेसियालाई हराउँदै समूह विजेता सावित भयो

सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले मलेसियालाई १६७ रनले अन्तरले हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। नेपाली ओपनर कुशल भुर्तेल लगातार दुई टी-२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी र विश्वकै १०औं खेलाडी बनेका छन्। नेपालले प्रस्तुत गरेको २७६ रनको लक्ष्य पछ्याउन दमखम देखाउन नसकेको मलेसियालाई १०८ रनमै रोक्दै समूह ‘ए’ को विजेता बन्न सफल भयो। २१ जेठ, काठमाडौं।

सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ। नेपालले दिएको २७६ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर मात्र १०८ रन बनायो। मलेसियाका कप्तान सायद अजिजले सर्वाधिक ५४ रन बनाएपनि अरु ब्याट्सम्यानहरूले उल्लेखनीय प्रदर्शन देखाएनन्। शर्विन मुनियान्डीले १८ तथा मुहम्मद हाजिकले १३ रन बनाए। नेपालका लागि शेर मल्लले ४ ओभरमा १४ रन खर्च गर्दै ३ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १-१ विकेट लिए।

त्यसअघि, ओपनर कुशल भुर्तेलले कीर्तिमानी शतक खेल्दै नेपाललाई विशाल योगफलसम्म पुर्याएका थिए। टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २७५ रन जोड्यो। भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रन बनाए। अर्का ओपनर आसिफ शेखले २४ बलमा ६८ रन थपे। कुशल भुर्तेलले टी-२०आईमा लगातार दोस्रो शतक बनाएका हुन् र यो उनको करियरको तेस्रो शतक पनि हो। यसअघि उनले यसै प्रतियोगिताको पहिलो खेलमा चीनसँग ३५ बलमा शतक प्रहार गरी ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए। मलेसियाविरुद्ध भुर्तेलले ४४ बलमा शतक प्रहार गरेका हुन्। उनी लगातार दुई टी-२०आई शतक बनाउन सफल भएका पहिलो नेपाली खेलाडी हुन् र विश्वकै १०औं खेलाडी बनेका छन्। कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाए। मलेसियाका विरानदीप सिंहले ४ ओभरमा २२ रन खर्च गर्दै ३ विकेट लिए भने विजय उन्नी र सायद अजिजले २-२ विकेट लिए। नेपालले चीनविरुद्ध २२१ रनको अर्को ठूलो जित पनि हासिल गरिसकेको छ। समूह ‘ए’ मा नेपालसँगै मलेसिया र चीन रहेका थिए। दुबै नेपाल र मलेसियाले चीनलाई पराजित गरिसकेका छन्। अब नेपाल र मलेसिया दुवैले सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्।