नेपाली चिया निर्यातमा भारतले लगाएको ‘अदृश्य’ अवरोध: परीक्षणका नाममा गोदाममा थन्किएका सामग्री

भारतले नेपाली चिया आयातमा पुनः शतप्रतिशत परीक्षणको नियम लागू गरेपछि करिब दुई लाख किलो चिया सिलिगुडी र कोलकाताका गोदामहरूमा थन्किएको छ। भारतीय पक्षको जटिल परीक्षण प्रक्रियाका कारण पूर्वी नाका मेची भन्सारबाट दुई हप्ता देखिको नेपाली चिया निर्यात रोकिएको छ। नेपाली चिया उत्पादकहरूले भारतस्थित नेपाली दूतावास र सरकारमार्फत दीर्घकालीन रूपमा गैरभन्सार अवरोध हटाउन कूटनीतिक पहल गर्न माग गरेका छन्।
२१ जेठ, काठमाडौं। नेपाली चिया निर्यातमा भारतले लगाएको निरन्तर अवरोधले यहाँका साना किसानहरूलाई आर्थिक संकटमा पुर्याएको छ। २१ दिन लामो नाकाबन्दीपछि भारतीय बजारमा प्रवेश गरेको नेपाली चिया अहिले पनि गन्तव्यसम्म नपुगेर सिलिगुडी, कोलकाता लगायतका व्यावसायिक केन्द्रका गोदामहरूमा थन्किएको छ। भारत पुगेको करिब २०० टन (२ लाख किलो) नेपाली चिया अहिले बिक्रीको पर्खाइमा गोदाममै अलपत्र परेको व्यवसायीहरूले बताएका छन्।
भारतले पुनः नेपाली चियामा गैरभन्सार अवरोध लगाइरहेकाले निकासी प्रभावित भएको हो। पहिले १८ वैशाखदेखि लागू गरिएको यस्तै प्रावधान कारण २१ दिनसम्म चिया निर्यात पूर्ण रूपमा ठप्प भएको थियो। बीचमा, भारतीय चिया बोर्डले भारतीय बजारमा बिक्री हुने चियाका लागि नमुना परीक्षण गर्ने र तेस्रो देशमा जाने चियाका लागि मात्र पूर्ण परीक्षण गर्ने सूचना जारी गरेपछि निकासी केही सहज भएको थियो। यसले नेपाली किसानहरूलाई केही राहत दिएको थियो। तर, २१ दिनपछि भारतीय टी बोर्डले मापदण्ड संशोधन गरी आन्तरिक बजार र पुनः तेस्रो मुलुकमा निर्यात हुने चियाका लागि छुट्टाछुट्टै परीक्षण नियमहरू लागु गरेको थियो।
भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (एफएसएसएआई) ले औपचारिक स्पष्टीकरण नआएसम्म पनि आन्तरिक खपतका लागि जाने चियामा टी बोर्डले परीक्षण नगर्ने जनाएको थियो। तर, भन्सार कार्यालय र एफएसएसएआईले जोखिम व्यवस्थापन प्रणालीअनुसार छड्के (र्यान्डम) नमुना संकलन गरी परीक्षण गर्न सक्ने व्यवस्था मिलाएको छ। टी बोर्डले चिया परीक्षण नतिजा आउनुपर्ने समय पनि कटौती गरी व्यापार सहजीकरण गरेको थियो। पहिले कम्तीमा १५ दिन लाग्ने परीक्षण रिपोर्ट ५ दिनभित्र अनलाइन अपलोड गर्न आवश्यक बनाइएको थियो। तर अहिले भारतीय पक्षले पुन: सबै चिया शतप्रतिशत परीक्षण गर्नुपर्ने पुरा नियम लागु गरेपछि दोस्रो सिजनको चिया पठाउने व्यापारी र किसानहरू प्रभावित भएका छन्।
पहाडबाट आएको र भारतीय गोदाममा थन्किएको चियाको नमुना परीक्षणका लागि लगिए पनि रिपोर्ट एक सातादेखि आउन नसकेको चिया व्यवसायीहरूले बताए। नेपालमा वार्षिक २५ हजार टन (२.५ करोड किलो) चिया उत्पादन हुन्छ, जसमा करिब ९० प्रतिशत भारततर्फ निर्यात हुन्छ। विशेषगरी पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै विश्व बजारमा पुगीरहेको छ।
मेची भन्सारबाट दुई सातादेखि निर्यात ठप्प मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईंले करिब दुई सातादेखि भारततर्फ चिया निर्यात नभएको बताए। “अघिल्लो अवरोध टुंगियो भन्थे, तर हालसम्म चिया यहाँबाट गएको छैन,” उनले भने। उनी दुई साताअघि परीक्षणका लागि पठाइएको ८ टन चियाको अवस्था अस्पष्ट रहेको पनि बताए। पूर्वी नेपालबाट उत्पादित चिया भारत, भुटान र बंगलादेशसमेत जान मुख्य नाका मेची भन्सार नै हो। भारतको बाटो हुँदै अन्य देशमा जानुपर्ने चिया रोकिदाँ व्यवसायीहरू समस्यामा परेको बताएका छन्।
भारतीय चिया बोर्डको रणनीति नेपाली चियामा पूर्ण प्रतिबन्ध लगाउने उद्देश्य : उद्योगी श्रेष्ठ चिया उद्योगी उत्तम श्रेष्ठका अनुसार भारतीय चिया बोर्डको रणनीति नै नेपाली चियामा पूर्णरूपमा रोक लगाउने र बजार तोड्ने हो। निकासी खुलेको जस्तो देखिए पनि भारतीय पक्षले चिया गोदाममा पुर्याएर विभिन्न बहानामा रोकिराखेको आरोप छ।
तारागाउँ टी स्टेट र सिद्धेश्वर टी स्टेटका संचालक तथा चिया उत्पादक संघका पूर्वअध्यक्ष श्रेष्ठका अनुसार नेपाल र भारतको भन्सारबाट ट्रकहरू पास भए पनि त्यो चिया भारतीय विभिन्न शहरका गोदामहरूमा अलपत्र छ। “हाम्रो चिया सिलिगुडी र कोलकाताका गोदाममा थन्किएका छन्,” उनले भने, “भन्सारबाट त गएको हो, तर गोदामबाट नमुना परीक्षणका लागि स्याम्पलिङ गर्दैछन्।”
उनका अनुसार करिब १.५ देखि २ लाख किलो नेपाली अर्थोडक्स चिया भारतीय गोदामहरूमा थन्किएको छ। परीक्षण प्रक्रिया जटिल र महँगो बनेको छ कि रिपोर्ट आउन २२ दिनसम्म पर्खनुपर्छ। “एक परीक्षणको शुल्क ११ हजार भारु भन्दा बढी छ, पुनः परीक्षण गर्नुपर्ने भए १५ हजार भारु तिर्नुपर्छ। यति महँगो शुल्क तिरेर पनि पास हुने सुनिश्चितता छैन,” उद्योगी श्रेष्ठ भन्छन्। भारतको अवरोधले नेपाली चियाको बजार र गुणस्तर दुबैमा नकारात्मक प्रभाव पारेको छ।
पहिलो सिजनको चियाको मूल्य राम्रो हुन्थ्यो, तर गोदाममा २२–२५ दिन अलपत्र हुँदा गुणस्तर घट्ने र बजार मूल्य पनि कम हुने उनले जनाए। “पहिलो पटक जाँदा चियाले राम्रो मूल्य पाउँथ्यो, तर अहिले समयले असर पारिरहेको छ। दोस्रो सिजनको चिया उत्पादन सुरु भइसकेको छ, तर पहिलेकै चियाको निर्णय छैन,” उनले थपे।
सरकार र सम्बन्धित निकायको भूमिका प्रति पनि उनले प्रश्न उठाए। वाणिज्य मन्त्रालयले समस्या समाधान भएको आश्वासन दियो तर व्यवहारमा केही देखिएको छैन। “मन्त्रालयसँग कुरा हुँदा दुःख नदिने र समस्या नहोस् भनेका थिए, त्यो आधारमा चिया पठाइयो, तर अहिले गोदाममै रोकिएको छ,” उनले गुनासो गरे। नेपाल चिया तथा कफी विकास बोर्डबाट पनि उल्लेखनीय काम नभएको उनको आरोप छ। भारतको चिया बोर्ड सक्रिय भए पनि नेपालले त्यसरी भूमिका निर्वाह गरेको छैन। परीक्षण नाममा नेपाली चियालाई भारतीय बजारमा प्रवेश गराउन नदिन खोज्नेदेखि साख गिराउने रणनीति विरुद्ध कूटनीतिक रूपमा बलियो कदम चाल्नुपर्ने अवस्था आएको उद्योगी श्रेष्ठले बताए।
भन्सारमा नभई गोदाममै समस्या सुरु नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतले कानुनी रूपमा भन्सारमा रोक लगाएको छैन, तर आयातकर्ताको गोदाममा नयाँ झमेला सुरु गरेको बताए। अघिल्लो पटक भन्सारमै चिया रोकिदो हो भने पनि यो पटक भन्सार पास भइसकेपछि भारतीय पक्षले कडाइ गरेको बताउनुभयो। “हाल भन्सारमा समस्या छैन, तर आयातकर्ताको गोदामबाट नमुना परीक्षण गरी पास भएपछि मात्र बेच्न पाउने नियम लागु गरिएको छ।”
उनका अनुसार यो नयाँ नियमले भारतीय व्यापारीहरूलाई नेपाली चिया किन्न डराउने काम गरेको छ। रिपोर्ट नआएसम्म सामान होल्ड हुँदै लगानी जोखिममा परेको देखेर व्यापारीहरूले किनमेलमा हिचकिचाइरहेका छन्। गुप्ताका अनुसार यो ‘अप्रत्यक्ष’ रोकथामको रणनीति हो। “चिया बोर्डले नमुना रिपोर्ट नआएसम्म बेच्न नपाउने नियम बनाएपछि व्यापारीहरूले जोखिम लिन हिचकिचाउँछन्। कानुनी रूपमा भन्सारमा रोक्न नसकेपछि यस्तो बाटो अपनाइएको हो।”
चिया व्यवसायीहरूले सरकारले कूटनीतिक पहल गरी नेपाली चियाको सहज निर्यात सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। भारतले बारम्बार सिर्जना गर्ने प्राविधिक र प्रशासनिक झन्झटले नेपाली चियाको अन्तर्राष्ट्रिय विश्वसनीयतामा असर पर्न सक्ने जोखिम बढाएको व्यवसायीहरू बताउँछन्। यसअवरोध हटाउन निजी क्षेत्रले भारतस्थित नेपाली दूतावासमार्फत कूटनीतिक पहल गर्न अनुरोध गरेको छ। रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका बेला व्यवसायीहरूले नेपाली चियाको निर्यातमा आइरहने प्रशासनिक र प्राविधिक झमेला अन्त्य गर्न दूतावासमार्फत माग अघि बढाएका छन्।






