
नेपाल क्रिकेट संघ (क्यान) ले भुटानविरुद्धको खेलमा नेपाली खेलाडीहरूले गरेको ‘टाइमआउट’ अपिल घटनाप्रति माफी मागेको छ। एसीसी प्रिमियर कपमा भुटानका ब्याटर ढिलो मैदान प्रवेश गरेको अवस्थामा नेपाली खेलाडीहरूले अम्पायरसमक्ष टाइमआउटको अपिल गरेका थिए। क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उक्त घटना क्रिकेटको मूल्य र खेलभावनासँग मेल नखाने बताए। २१ जेठ, काठमाडौं।
क्यानले जारी गरेको विज्ञप्तिमा उक्त घटना क्रिकेटको मूल्य र खेलभावनाअनुरूप नभएको जनाएको छ। ‘यो आउट क्रिकेटको नियम भित्र रहेर गरिएको भए पनि खेलको भावना नियमभन्दा माथि हुन्छ र सधैं हाम्रो व्यवहारको केन्द्रमा रहनुपर्छ भन्ने हामी स्वीकार गर्छौं,’ क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
क्यानले नेपालजस्तो विकासशील क्रिकेट राष्ट्रका लागि खेल भावना, पारस्परिक सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकतामा राखिने उल्लेख गर्दै उक्त घटनाले ती मान्यताअनुसार व्यवहार गर्न नसकेको स्वीकार गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले उत्पन्न गरेको निराशाप्रति हामी दुःख व्यक्त गर्छौं।’ क्यानले भुटान क्रिकेट, सम्बन्धित खेलाडी र सरोकारवालासमक्ष क्षमायाचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना र उच्च नैतिक मापदण्ड कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ। एसीसी प्रिमियर कप अन्तर्गत आज विहान नेपाल र भुटानबीच भएको खेलमा भुटानले जवाफी ब्याटिङ गर्दा इनिङको पहिलो बलमै विकेट गुमाएपछि वानडाउन ब्याटर आउन केही ढिलो भएको थियो। सो क्रममा नेपाली खेलाडीहरूले अम्पायरलाई प्रश्न गर्दै अपिल गरेका थिए। नियमअनुसार यो स्वीकृत हुनसक्ने भए पनि खेलभावनाको विपक्षमा हुनेछ भन्ने दृष्टिकोण रहँदै आएको छ।






