
भारतले आगामी आयरल्यान्ड र इंग्ल्यान्ड भ्रमणका लागि श्रेयस अय्यरलाई टी–२० टोलीको नयाँ कप्तान बनाउने तयारी गरेको छ। आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका १५ वर्षीय ब्याट्सम्यान वैभव सूर्यवंशी पहिलोपटक भारतीय राष्ट्रिय टोलीमा छनोट हुन सक्ने चर्चा भइरहेको छ। विश्वकप विजेता कप्तान सूर्यकुमार यादव टोलीबाट बाहिरिन सक्ने सम्भावना छ र भारतले जुन २६ देखि आयरल्यान्डसँग टी–२० शृंखला खेल्ने तयारी गरेको छ।
२२ जेठ, काठमाडौं। भारतले आगामी आयरल्यान्ड र इंग्ल्यान्ड भ्रमणका लागि टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी परिवर्तन गर्ने तयारी गरेको छ। भारतीय समाचार संस्था क्रिकइन्फोका अनुसार श्रेयस अय्यर टी–२०आई टोलीका नयाँ कप्तान बन्ने सम्भावना छ भने १५ वर्षीय ब्याट्सम्यान वैभव सूर्यवंशी पहिलो पटक राष्ट्रिय टोलीमा समावेश हुन सक्ने चर्चा चलिरहेको छ। भारतले सन् २०२८ को लस एन्जलस ओलम्पिक्स र अस्ट्रेलिया-न्युजिल्यान्डमा हुने २०२८ को टी–२० विश्वकपलाई लक्षित गर्दै टोली निर्माण प्रक्रिया अगाडि बढाएको हो।
टी–२० विश्वकप २०२६ जितेपछि यो भारतको पहिलो टी–२० अन्तर्राष्ट्रिय श्रृंखला हुनेछ। विश्वकप उपाधि जिताएका कप्तान सूर्यकुमार यादव भने टोलीबाट बाहिरिन सक्ने सम्भावना देखिएको छ। ३५ वर्षीय सूर्यकुमारले विश्वकपमा ९ इनिङ्समा २४२ रन बनाएका थिए भने आईपीएल २०२६ मा १३ खेलबाट २७० रन मात्र जोड्न सकेका थिए। अय्यरले पछिल्ला वर्षहरूमा कप्तान र ब्याट्सम्यान दुवै भूमिकामा प्रभावशाली प्रदर्शन गरेका छन्।
उनले २०२४ मा कोलकाता नाइट राइडर्सलाई आईपीएल उपाधि दिलाएका थिए भने दिल्ली क्यापिटल्स र पन्जाब किङ्सलाई पनि फाइनलसम्म पुर्याएका थिए। सन् २०२५ मा पन्जाबमा अनुबन्ध भएर कप्तान चुनिएका श्रेयसले सो सिजनमै टोलीलाई फाइनलमा पुर्याएका थिए। सो सिजन सुरुवाती ७ खेलमा अपराजित रहँदा पनि प्लेअफमा पुग्न सकेनन्। उनले आईपीएल २०२५ मा ६०४ रन बनाएका थिए भने आईपीएल २०२६ मा १६९ को नजिक स्ट्राइकरेटमा ४९८ रन जोडेका थिए। सबैभन्दा बढी चर्चा १५ वर्षीय सूर्यवंशीको सम्भावित चयनलाई लिएर भइरहेको छ। उनले आईपीएल २०२६ मा २३७.३० को विस्फोटक स्ट्राइकरेटमा ७७६ रन बनाएर सनसनी मच्चाएका थिए। टोलीमा परेमा उनी सचिन तेन्दुलकरपछि भारतको पुरुष राष्ट्रिय टोलीमा छनोट हुने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। राष्ट्रिय टोलीमा सामेल हुनु अगाडि सूर्यवंशीले श्रीलङ्कामा हुने त्रिकोणात्मक श्रृंखलामा भारत ‘ए’ टोलीबाट खेल्ने कार्यक्रम छ, जहाँ अफगानिस्तान पनि सहभागी हुनेछ। भारतले जुन २६ र २८ मा बेलफास्टमा आयरल्यान्डसँग दुई टी–२० खेल खेल्नेछ। त्यसपछि जुलाई १ देखि ११ सम्म इंग्ल्यान्डविरुद्ध पाँच खेलको टी–२० शृंखला खेल्ने तालिका छ।






