Skip to main content

दूधमा रसायन मिसावट: भान्सामा प्रवेश गरेको ‘मन्द विष’

भक्तपुरको जोरपाटी दुग्ध सहकारी संस्थाले अखाद्य रसायन मिसाएर नक्कली दूध बनाई डीडीसी र खुला बजारमा बिक्री गरेको देखिएको छ। काभ्रेको पनौती र बुटवलमा संकलन गरिएको दूधमा चिनी र सोडाजस्ता घातक रसायन मिसावट पत्ता लागेपछि नष्ट गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको ९ महिनामा दूधमा मिसावट गर्नेविरुद्ध ८२ वटा मुद्दा दायर गरेको छ। २५ जेठ, काठमाडौं।

दूधलाई केवल खाद्यवस्तुका रूपमा मात्र नभई शुद्धता, शक्ति र पोषणको सुनिश्चित स्रोतका रूपमा लिइन्छ। बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हरेक दिन एक गिलास दूध पूर्ण आहारको रूपमा ढुक्क भएर पिउन दिइन्छ। तर, पछिल्लो समय सरकारी निकायका प्रतिवेदन र प्रयोगशालाका परीक्षणहरूले दूधको माध्यमबाट हाम्रो भान्सामा ‘मन्द विष’ प्रवेश भइरहेको देखिन्छ। बजारमा उपलब्ध दूधलाई धेरै समयसम्म बिग्रन नदिन र अत्यधिक नाफा कमाउन केही दुग्ध उद्योगी र संकलकहरूले मानव स्वास्थ्यमा गम्भीर अपराध गरिरहेका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ३१ वैशाखमा भक्तपुरमा सञ्चालित एक दुग्ध उद्योगमा गरेको अनुगमन क्रममा यस्ता गम्भीर लापरबाही फेला पारेको थियो। अनुगमन टोलीले उक्त उद्योगमा पास्चराइजर ट्यांकमा हालेर पगाल्न तयारी अवस्थामा रहेको ३० किलो ‘बेकरी सर्टेनिङ’ जस्तो देखिने चिल्लो पदार्थ समेत फेला पारेको थियो। दूधमा मिसावट गर्न प्रयोग गरिने ५६ किलो ‘डेक्स्ट्रोज मोनोहाइड्रेट’, ९.८६ किलो ‘माल्टोडेक्स्ट्रिन’ र ३० किलो ‘बेकरी सर्टेनिङ’ बरामद गरिएको थियो।

बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिक्री भइरहेका केही दूध आपूर्तिकर्ताको दूधमा सरकारले तोकेभन्दा कम गुणस्तर र मिसावट भेटिएपछि उपमहानगरपालिकाले सूचना नै जारी गरेको थियो। अनुगमन क्रममा दूध लामो समयसम्म बिग्रिन नदिनका लागि सोडा लगायत घातक रसायनहरू मिसाइएको पाइएको थियो। दूधमा यस्ता मिसावटलाई महर्जनले केवल व्यापारिक ठगी मात्र नभई बहुआयामिक ठगीको रूपमा व्याख्या गरेका छन्।