भारतीयलाई नक्कली नेपाली नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर २५ जेठ, लमही। भारतीय नागरिकलाई नक्कली नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले दाङको राजपुर गाउँपालिका वडा नं ४ का वडाध्यक्षसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर रहेका छन्। प्रहरीले जानकारी दिएको अनुसार उनले भारतीय नागरिक आलम जोल्हालाई आफ्नो वडा क्षेत्रको स्थानीय भनी नक्कली सिफारिस गरी नागरिकता दिलाउन सहयोग गरेका थिए।
उक्त घटनामा वडाध्यक्ष अहिरसहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो। पक्राउ पर्ने अन्यहरुमा भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा, राजपुर गाउँपालिका वडा नं ४ का वडासचिव राजकुमार कहार, र कार्यालय सहयोगी मिना चौधरी रहेका छन्। प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिएका छन्। पक्राउ परेका चारै जनालाई नागरिकता सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक बमले बताएका छन्।
त्यस भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेम खवासले पनि हस्ताक्षर गरी सहयोग गरेको पाइएको छ, जसका कारण उनीमाथि पनि अनुसन्धानका लागि ध्यान दिइएको छ।

