
यस वर्षको वर्ल्डकपमा एआई युक्त फुटबल किन प्रयोग भइरहेको छ? आगामी सातादेखि सुरु हुन लागेको वर्ल्डकप फुटबल प्रतियोगितामा विभिन्न नयाँ प्रविधिहरूको प्रयोग हुन लागेको छ। फिफाले यस विषयमा जानकारी दिएको छ। तीमध्ये प्रमुख आकर्षण भनेको प्रविधियुक्त फुटबल हो।
संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको यस प्रतियोगितामा प्रयोग हुने फुटबल अत्याधुनिक प्रविधियुक्त हुनेछ। फिफाका अनुसार, यो सामान्य फुटबल जस्तै देखिने र महसुस हुने भए पनि यसमा विशेषता छ। ‘ट्राइओन्डा’ नामक स्मार्ट फुटबलमा रहेको चिपमा रहेका सेन्सरहरूले यो बललाई फरक बनाउँछन्।
फिफाका अनुसार, यस्तो बलले प्रतिसेकेन्ड ५०० पटक डेटा सङ्कलन गर्न सक्षम छ, जसले हरेक साना साना गतिविधि निगरानीमा राख्न मद्दत गर्छ। फुटबलमा प्रायः विवाद सिर्जना गर्ने ह्यान्डबल, अफसाइडजस्ता गल्तीहरूको पहिचानमा र रेफ्री तथा अधिकारीहरूलाई सहि निर्णय लिनमा एआई क्षमतायुक्त यो फुटबलले सहयोग गर्ने अपेक्षा गरिएको छ।






