Skip to main content

पाकिस्तानले रक्षा बजेट १८ प्रतिशतले वृद्धि गर्ने तयारी

११ असार, काठमाडौं । पाकिस्तानले रक्षा बजेट १८ प्रतिशतले बढाएर ३ हजार अर्ब रुपैयाँ (३ ट्रिलियन) पुर्‍याउने तयारी गरेको छ । जुन २०२६ मा पाकिस्तान सरकारले सांसदहरू समक्ष प्रस्तुत गरेको बजेटको मस्यौदामा रक्षा बजेट वृद्धिको प्रस्ताव छ । पाकिस्तानका अर्थमन्त्री मोहम्मद औरंगजेबले क्षेत्रीय अनिश्चितताका कारण देशलाई थप सुदृढ बनाउने उद्देश्यले रक्षा बजेट बढाउन लागेको बताएका छन् । पाकिस्तानको नयाँ आर्थिक वर्ष १ जुलाईदेखि सुरु हुँदैछ । सरकार त्यसअघि नै संसदबाट बजेट प्रस्ताव पारित गराउन चाहन्छ । बजेट प्रस्तावमाथि पाकिस्तानी सांसदहरूले यसै महिनाको अन्त्यसम्ममा मतदान गर्ने अनुमान छ ।

विश्लेषकहरूका अनुसार दक्षिण एसियामा तीव्र गतिमा परिवर्तन भइरहेका सैन्य प्रविधि र उदीयमान सुरक्षा चुनौतीहरूका कारण पाकिस्तान सरकार रक्षा बजेट बढाउनुपर्ने निष्कर्षमा पुगेको हो । इस्लामाबादस्थित रक्षा विश्लेषक मारिया सुल्तानका अनुसार युक्रेन र मध्यपश्चिममा जारी युद्धका साथै गत वर्ष परमाणु हतियार सम्पन्न छिमेकी भारत–पाकिस्तानबीच भएको तनावले सैन्य योजनाकारहरूको सोचाइमा परिवर्तन ल्याएको छ । पाकिस्तानको यो कदमको एउटा प्रमुख कारण यही हो । भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणको जवाफस्वरूप भारतले मे २०२५ मा ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको थियो । उक्त आक्रमणमा एक नेपाली, रुपन्देहीका सुदीप न्यौपाने, समेत मारिएका थिए ।

भारतको निरन्तर सैन्य आधुनिकीकरण तथा ड्रोन, साइबर क्षमता र अत्याधुनिक लक्ष्यभेदी हतियारहरूको विकासले पाकिस्तानका सैन्य योजनाकारहरूलाई आफ्नो सुरक्षा रणनीति पुन: मूल्याङ्कन गर्न बाध्य बनाएको छ । पाकिस्तान अफगानिस्तानसँग पनि तनावपूर्ण सम्बन्धमा छ, विशेषगरी खैबर पख्तुनख्वा र बलुचिस्तान क्षेत्रमा । फेब्रुअरीमा इस्लामाबादले काबुलसँग ‘खुला युद्ध’ को घोषणा गरेको थियो । पाकिस्तानले बारम्बार अफगानिस्तानको भूमिबाट सञ्चालित उग्रवादी समूहहरूलाई रोक्न काबुल असफल भएको आरोप लगाउँदै आएको छ। यद्यपि अफगानिस्तानले यी आरोपहरू अस्वीकार गर्दै आएको छ ।