Skip to main content

मदन भण्डारी राष्ट्रिय पुरस्कार लेखक रमेश रुछेन राईलाई प्रदान गरिने

१२ असार, काठमाडौं । मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ यस वर्ष लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गर्ने निर्णय गरेको छ। फाउण्डेशनले राईको अनुसन्धानपरक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’लाई पुरस्कारका लागि चयन गरेको जानकारी दिएको छ। उक्त फाउण्डेशनले जननेता मदनकुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीति योगदानसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।
फाउण्डेशनका अनुसार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन र पुस्तक प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचार-प्रसारमा उल्लेखनीय भूमिका खेल्ने व्यक्ति वा संस्था पुरस्कृत गर्ने नीति रहेको छ। यसका लागि तीन सदस्यीय छनोट समितिको सिफारिसमा राईको कृति चयन गरिएको हो।
इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राई लामो समयदेखि नेपाली राजनीति, विकास र समसामयिक विषयमा स्वतन्त्र अध्येता एवं अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्। पुरस्कार स्वरूप राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ। यो पुरस्कार आगामी असार १४ गते आइतबार दिउँसो २ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने कार्यक्रम तय गरिएको छ।