Skip to main content

समूह ‘एच’ मा चारवटै टिमले नकआउट चरणमा पुग्ने सम्भावना कायम, केप भर्डेले गर्नेछ इतिहास?

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत दुई अन्तिम र निर्णायक खेलहरू हुँदैछन् जसले यस समूहको नकआउट चरणको समीकरण तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। पहिलो मुख्य खेलमा दुई पूर्व च्याम्पियन उरुग्वे र स्पेन समूहको शीर्ष स्थान र प्रतिष्ठाका लागि आमनेसामने हुँदैछन्। प्रशिक्षक मार्सेलो बिएल्साको तीब्र गतिको उरुग्वे र लुइस डी ला फोन्टेको कलात्मक स्पेन बीचको यो खेललाई रणनीतिक हिसाबले उच्च स्तरको मानिएको छ। अर्कोतर्फ, सोही समूहको दोस्रो खेलमा पहिलो पटक विश्वकप खेलिरहेको अफ्रिकी टापु राष्ट्र केप भर्डे र एसियाली पावरहाउस साउदी अरेबिया नकआउटको सम्भावना जीवित राख्नका लागि ‘जसरी पनि जित्नै पर्ने’ दबाबका साथ मैदान उत्रनेछन्। २ खेलमा १ जित र १ बराबरी खेलिसकेको स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ। स्पेनले साउदी अरेबियालाई ४-० ले पराजित गरेपछि केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। त्यस्तै, उरुग्वे र केप भर्डेको २ खेलमा समान २ अंक छन्। उरुग्वेले साउदी अरेबियासँग १-१ को बराबरी र केप भर्डेसँग २-२ को बराबरी खेलेको थियो। साउदीसँग १ अंक मात्र छ।

उरुग्वे र स्पेनबीच अन्तर्राष्ट्रिय फुटबलमा लामो र सम्मानजनक इतिहास छ। यी दुई टोली अहिले सम्म १० पटक आमनेसामने भएका छन्, जसमा स्पेनले ५ खेल जितेको छ भने उरुग्वेले कुनै पनि खेल जित्न सकेको छैन र ५ खेल बराबरीमा समाप्त भएका छन्। विश्वकपको इतिहासमा यी दुई टोली दुई पटक भिडिसकेका छन्; सन् १९५० को विश्वकपमा २-२ को बराबरी र सन् १९९० को विश्वकप समूह चरणमा गोलरहित (०-०) बराबरी भएको थियो। उरुग्वे स्पेन विरुद्ध आफ्नो इतिहासमै पहिलो जितको खोजीमा छ।

खेलाडीहरूमा ध्यानः फेडेरिको भाल्भेर्दे (उरुग्वे – मिडफिल्डर): रियल मड्रिडका यी स्टार मिडफिल्डर उरुग्वेको टोलीका मुख्य इन्जिन हुन्। मैदानको मध्यभागमा उनको अथक ऊर्जा, खेल नियन्त्रण गर्ने क्षमता र लामो दूरीबाट शक्तिशाली प्रहार गर्ने शैली स्पेनका लागि मुख्य चुनौती हुनेछ। डार्विन नुनेज (उरुग्वे – स्ट्राइकर): अल हिलालमा आबद्ध नुनेज उरुग्वेको आक्रमणका प्रमुख गोल मेसिन हुन्। उनको विष्फोटक गति र शारीरिक शक्ति स्पेनिस डिफेन्स तोड्न उरुग्वेको मुख्य हतियार बन्नेछ। रोड्री (स्पेन – मिडफिल्डर): म्यानचेस्टर सिटीका मुख्य खेलाडी रोड्री स्पेनिस टोलीका रणनीतिक कमाण्डर हुन्। खेलको लय नियन्त्रण गर्ने र उरुग्वेको तीब्र गतिको काउन्टर अट्याकलाई मिडफिल्डमै रोक्नु उनको मुख्य जिम्मेवारी हुनेछ।

केप भर्डे र साउदी अरेबियाबीच फुटबल इतिहासमा यो पहिलो आधिकारिक भेट हो। विश्वकपको मञ्चमा यी दुई राष्ट्र पहिले कहिल्यै आमनेसामने भएका छैनन्। पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले अफ्रिकी छनोटमा देखाएको जुझारु रक्षात्मक प्रदर्शनलाई निरन्तरता दिँदै इतिहास रच्न चाहन्छ। अर्कोतर्फ, विश्वकपमा अर्जेन्टिनाजस्ता ठूला टोलीलाई हराएको अनुभव बोकेको साउदी अरेबिया एसियाली फुटबलको साख जोगाउँदै ३ अंक बटुल्ने लक्ष्यमा छ।