Skip to main content

एरिका र दीपेन्द्रलाई वर्षको उत्कृष्ट खेलाडी घोषणा

करातेकी स्टार एरिका गुरुङ र टी-२० क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीलाई हाम्रो खेलकुद वर्षका उत्कृष्ट खेलाडी घोषित गरिएको छ। हाम्रो खेलकुद डटकमको ११ औं वार्षिकोत्सवको अवसरमा दुबै खेलाडीलाई सम्मानस्वरूप जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। सो अवसरमा नेपाली खेलकुदको विकास, पूर्वाधार लगानी र व्यवसायीकरण सम्बन्धी सरोकारवालाबीच कन्क्लेभसमेत सञ्चालन गरिएको थियो। १९ साउन, काठमाडौं।

करातेकी स्टार एरिका गुरुङ महिलातर्फका उत्कृष्ट खेलाडी भनेका छन् भने नेपाली टी-२० क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषणा गरिएको छ। हाम्रो खेलकुद डटकमको ११ औं वार्षिकोत्सवमा आज यी दुई खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो। दीपेन्द्रको तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले पुरस्कार ग्रहण गरेकी थिइन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र भाटभटेनी होल्डिङका निर्देशक कल्याण गुरुङले दुवै खेलाडीहरूलाई सम्मान गरेका थिए। एरिकालाई राखेपका सदस्य सचिव राम चरित्र मेहता र नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सम्मान गरे। पुरस्कार स्वरूप उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।

त्यसअघि हाम्रो खेलकुद कन्क्लेभ आयोजना गरिएको थियो। नेपाली खेलकुदमा पूर्वाधार, लगानी, संरक्षण, महिला र पारामैत्री अवस्थासम्बन्धी विषयमा सरिता श्रेष्ठले चलाएको सत्रमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव रविन्द्र चन्द, पारालिम्पिक्सका कास्य पदक विजेता पलेशा गोबर्धन र सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले आफ्नो विचार व्यक्त गरे। त्यसैगरी नेपाली खेलकुद व्यवसायीकरणका वास्तविकता, चुनौती र सम्भावनाका विषयमा प्रकाश तिमल्सिनाले सञ्चालित सत्रमा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, ललितपुर सिटी एफसी प्रबन्ध निर्देशक आलोक जंग जोशी र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आफ्नो धारणा राखे। हाम्रो खेलकुदले सातौं वार्षिकोत्सवदेखि खेलाडी सम्मान गर्दै आएको छ भने गत वर्षदेखि हाम्रो खेलकुद कन्क्लेभ आयोजना गर्दै आएको छ।