Skip to main content

आन्तरिक राजस्व विभागले प्यान लिएर बिल जारी गर्न व्यवसायीहरूलाई सचेत गरायो

आन्तरिक राजस्व विभागले सबै व्यवसायीलाई अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिएर कारोबारमा बिल जारी गर्न सचेत गराएको छ। चालु आर्थिक वर्ष २०८३/८४ देखि सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको छ, जसअन्तर्गत व्यवसायीहरूले प्यान नलिई व्यवसाय गर्दै आएका भए, अब अनिवार्य रूपमा प्यान लिएर बजार कारोबारको बिल जारी गर्न विभागले सचेत गराएको हो।

उपभोक्ताले रु १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा बिल प्रविष्ट गरी दैनिक रु १ लाख र १५ दिनमा रु १० लाखसम्म उपहार पाउनेछन्। सोमबारसम्म करिब ११ लाख कारोबार संख्या पुगेको छ। विभागका अनुसार, सोमबार दिउँसो १२ बजेसम्म उपभोक्ताले गरेको कारोबार संख्या १० लाख ८२ हजार ६ सय २२ पुगेको छ। यसमा क्यूआर कोडबाट गरिएको कारोबार र नगद कारोबार गरी अपलोड गरिएको बिल संख्या समेत समावेश छ।

विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार, साउन १ देखि १५ सम्म क्यूआरमार्फत गरिएका १० लाख ७४ हजार ७ सय ९६ कारोबार उपहार कार्यक्रममा योग्य छन्। शनिबारदेखि भौतिक बिल अपलोड गर्ने सुविधा पनि खुलेको छ। विभागले पहिलो १५ दिनमा हरेक दिन १५ जनालाई रू १ लाख र एक जनालाई विशेष बम्पर पुरस्कार स्वरूप रू १० लाख पुरस्कृत गर्ने योजना छ। यस कार्यक्रमको पहिलो पुरस्कार घोषणा चाँडै गरिनेछ।