Skip to main content

सोलमा तापक्रम ३९ डिग्री पुग्ने, २० भन्दा बढीको मृत्यु

दक्षिण कोरियामा जारी पनिषण तातो लहरका कारण अहिलेसम्म २० भन्दा बढीको मृत्यु भइसकेको छ। राष्ट्रपति ली जे म्युङले स्थिति नियन्त्रणमा ल्याउन सबै उपलब्ध जनशक्ति र स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन्। अत्यधिक गर्मीका कारण कोरिया बेसबल अर्गनाइजेसनले बुधबार र बिहीबारका सबै १० खेल रद्द गरेको छ।

२१ साउन, काठमाडौं। दक्षिण कोरियामा अत्यधिक गर्मीका कारण भीषण तातो लहर चलिरहेको छ। राजधानी सोलमा बिहीबार तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यति अत्यधिक गर्मीका कारण अहिलेसम्म २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। राष्ट्रपति ली जे म्युङले बिहीबार तातो लहर सम्बन्धी बैठकमा सम्बोधन गर्दै भने, “हामीले कहिल्यै अनुभव नगरेको स्तरको अत्यधिक गर्मी दिनप्रतिदिन बढ्दैछ। पहिले विदेशी समाचारहरूमा मात्रै देखिने यस्तो तातो लहर अब हाम्रो वास्तविकता बनेको छ।”

राष्ट्रपति लीले स्थिति सहज नभएसम्म उपलब्ध सबै जनशक्ति र स्रोतसाधन परिचालन गर्न मन्त्रालय र स्थानीय सरकारलाई निर्देशन दिए। उनले नागरिकको जीवन रक्षा, जोखिममा रहेका बासिन्दाको सुरक्षा र बाहिर काम गर्ने कामदारलाई विश्रामको नियम कडाइका साथ पालना गराउन जोड दिए। यो अनुमानित तापक्रम सन् २०१८ को अगस्टमा कायम भएको ३९.६ डिग्री सेल्सियसको ऐतिहासिक रेकर्डसँग नजिक छ।

मौसमविद्हरूका अनुसार सोलले आफ्नो आधुनिक इतिहासकै सबैभन्दा तातो दिनहरू सामना गरिरहेको छ। कोरिया मौसम विभागका अनुसार केही क्षेत्रमा रातिको तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल ओर्लिएको छैन। गर्मीबाट बच्न सर्वसाधारणहरू खोला, डिपार्टमेन्ट स्टोर र वातानुकूलित स्थानहरूमा पुगेका छन्। गर्मीका कारण दर्शकहरू अचेत हुन थालेपछि कोरिया बेसबल अर्गनाइजेसनले बुधबार र बिहीबारका सबै १० खेल रद्द गरेको छ। इन्चोनमा भएको खेलको क्रममा एउटा दर्शक अचेत भएर पुगेका थिए। मौसमविद्हरूका अनुसार टाइफुन डल्फिनले दक्षिण कोरियामा प्रत्यक्ष खतरा नपुगाए पनि तातोपन वृद्धि गर्न भूमिका खेलेको छ। पूर्वी हावालाई बलियो बनाएर पश्चिमी क्षेत्रमा तातो र शुष्क हावा बगाउन टाइफुन डल्फिनले सहयोग गरेको छ, जसले सोल र अन्य क्षेत्रहरूमा गर्मी अझ तीव्र बनाएको छ।