Skip to main content

गाजा विवादमा ट्रम्पको १५ बुँदे योजना नेतन्याहुले अस्वीकार गरे

२४ साउन, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको गाजा सम्बन्धी १५ बुँदे योजनालाई अस्वीकार गरेका छन्। उनले स्पष्ट भनेका छन्, “जबसम्म हमासले पूर्ण रूपमा हतियार त्याग गर्दैन, इजरायली सेना गाजाबाट फर्कने छैन।” आइतबार नेतन्याहुले भने, “इजरायलले उक्त १५ बुँदे सम्झौता स्वीकार गर्ने छैन, जबसम्म हमासले पूर्ण रुपमा हतियार छोड्दैन, तबसम्म इजरायलका सेना त्यहाँबाट पछि हट्ने छैनन्। साथै, इजरायलले आफ्ना सैनिक र नागरिकमाथि कुनै पनि खतराबाट सुरक्षा सुनिश्चित गर्ने छ।”

पछिल्लो महिनामा ट्रम्पको ‘बोर्ड अफ पिस’ले गाजामा हमास र अन्य सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरण सम्झौता भएको दाबी गरेको थियो। यद्यपि, हमासले ठूलो मात्रामा हतियार बुझाउने निर्णय इजरायलका आक्रमण रोक्ने र गाजा क्षेत्रबाट सैनिक फिर्ता बोलाउने कुरामा निर्भर पर्ने स्पष्ट पारेको छ। नेतन्याहुले भने, हमासले पहिले हतियार छोड्नुपर्ने छ र यो प्रक्रिया मात्र कागजी वा प्रदर्शनमूलक हुन नहुने बताएका छन्। यस सम्बन्धमा अमेरिकी अधिकारीहरूसँग छलफल भइरहेको जानकारी पनि उनले दिएका छन्। उनका अनुसार, अमेरिकाबाट आएका केही प्रस्तावहरू छन् जसलाई इजरायलले स्वीकार गर्न नसक्ने अवस्थामा छ।