कतारले इरानको आरोपमा आफ्ना ३ लडाकू पाइलट पक्राउ गरेको दाबी पूर्णरूपमा अस्वीकार गर्यो

इरानले आफ्ना तीन जना लडाकू विमानचालकहरूको रिहाइका लागि अपील गरेको छ। अमेरिका र इरानबीचको युद्धको प्रारम्भिक चरणमा हवाई सुरक्षा प्रणालीले आफ्ना दुई लडाकू जहाजहरूलाई प्रहार गरेको अवस्थामा ती पाइलटहरू कतारले नियन्त्रणमा लिएको इरानले दावी गरेको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई (आईसीआरसी) लेखेको पत्रमा इरानका ब्रिगेडियर जनरल मोहम्मद बागेरजादेहले ती पाइलटहरू – जावाद सलेही, अब्दुल मजिद दास्तियान र इमरान बेहरोसियान – छ महिनादेखि कब्जामा रहेको बताएका छन्। सन् २०२६ को मार्च २ मा युद्ध सुरु भएको तेस्रो दिन सो घटनामा मारिएका चौथो पाइलट मजिद कजेमीको शव फिर्ता गरिएको पत्रमा उल्लेख छ।
कतारले इरानको उक्त दाबीलाई पूर्णरूपमा अस्वीकार गरेको छ। कतारले ती दाबीहरूलाई “गलत” भन्दै आफू अचम्ममा परेको जनाएको छ। जेनरल बागेरजादेहका अनुसार कतारको सैन्य अखडामा हमला गर्ने सैन्य कारबाहीका क्रममा लडाकू विमानबाट उछिट्टिएका ती तीन पाइलटलाई कतारले नियन्त्रणमा लिएको थियो। इरानी सञ्चारमाध्यमहरूमा प्रकाशित आईसीआरसी का प्रमुखलाई लेखिएको उक्त पत्रमा उनले कतारले “अन्तर्राष्ट्रिय नियम कानुन उल्लङ्घन गर्दै ती बन्दीहरूको अपरिवर्तनीय अधिकारको उल्लङ्घन गरेको” आरोप लगाएका छन्।
तीन पाइलटलाई आफ्ना परिवारसँग भेट्न वा सम्पर्क गर्न अनुमति नदिइएको पनि पत्रमा उल्लेख गरिएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताअनुसार, मजेद मोहम्मद अल अन्सारीले “कतारी हवाई क्षेत्रको उल्लङ्घन भएपछिको अवस्थालाई लिएर” पाइलटहरूसँग सम्पर्क गरिएको तर कुनै प्रतिक्रिया नआएको बताएका छन्। “अन्तर्राष्ट्रिय कानुन अनुरूप हामीले हाम्रो भूभागको सुरक्षा गर्न आवश्यक कदम चाल्यौं,” उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्। अल अन्सारीले कतारी खोज तथा उद्धार टोलीले ती “पाइलटका अवशेषहरू खोज्न आफ्नो कर्तव्य पूरा गरेको” पनि बताएका छन्।
“अवशेष फेला परेको एक जना पाइलटलाई इरानलाई हस्तान्तरण गर्न कतारले सम्पर्क गरिरहेको” उनले बताए। तथापि उक्त खोज तथा उद्धार कारबाहीका विषयमा समीक्षा गर्ने निम्तोमा तेहरानबाट अहिलेसम्म कुनै जवाफ प्राप्त भएको छैन। यसैबीच, इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासमा व्यापारीक उडानहरू पुनः सुरु भएका छन्। युद्धका बीच त्यहाँ बारम्बार अमेरिकी आक्रमण भइरहेका थिए। फेब्रुअरी २८ मा अमेरिका र इजरायलद्वारा इरानमाथि आक्रमण भएपछिको यो जारी युद्ध अझै स्थिर अवस्थामा छैन।






