Skip to main content

मधेशमा ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि, प्राधिकरण र प्रहरी दुवै चुनौतीमा

मधेश प्रदेशमा सिंचाइ र खानेपानी योजनाका लागि राखिएका ट्रान्सफर्मर चोरी हुने घटनाहरू बढ्दै गर्दा किसान र सर्वसाधारण समस्यामा परेका छन्। प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै मधेशमा ३३ वटा ट्रान्सफर्मर चोरी भएका छन् भने पछिल्ला पाँच वर्षमा कुल १०१ वटा चोरीका घटना देखिएका छन्। विद्युत् प्राधिकरणले चोरी रोक्न वेल्डिङ लगायत सुरक्षा उपायहरू अपनाए पनि चोरहरूले ती विधिहरू तोड्दै उपकरण चोरी गर्न सफल भएका छन्। २ भदौ, जनकपुरधाम। महोत्तरीको औरही नगरपालिका–१ मा सिंचाइको लागि जडान गरिएको १०० केभी क्षमताको ट्रान्सफर्मर २७ साउन राति चोरी भएको छ। उक्त ट्रान्सफर्मर एक वर्षअघि २८ असार २०८२ मा जडान गरिएको थियो। ट्रान्सफर्मर चोरी भएपछि किसानहरूले धानखेतमा सिंचाइ गर्न कठिनाई भोग्नुपरेको छ। सिंचाइका लागि भरपर्दो विकल्प नहुँदा यो चोरीले खेतीपातीमा ठूलो समस्या देखिएको किसान विपिन यादवले बताए। ‘समयमै पानी पर्दैन। ट्रान्सफर्मर जडान भएपछि केही राहत मिलेको थियो, त्यो पनि चोरी भयो। अब धानमा कसरी सिंचाइ गर्ने?’ उनले दु:खेसो व्यक्त गरे।

गत ३ साउन राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुरमा खानेपानीको ट्रान्सफर्मर चोरी भएको छ। सञ्चालनको तयारीमा रहेको त्यो ट्रान्सफर्मर चोरी भएपछि समस्या देखिएको वडाध्यक्ष अवधकिशोर यादवले बताए। ‘खानेपानी आयोजना सञ्चालनको तयारीमा थियो, तर ट्रान्सफर्मर चोरी भएपछि अलमल भयो,’ उनले भने। उनका अनुसार, यसअघि वडा नं. ८ र ९ बीचमा रहेको कृषि सिंचाइका लागि जडान गरिएको ट्रान्सफर्मर पनि चोरी भएको थियो। पटकपटक चोरीका घटनाहरू भइरहेका छन् र यसबारे प्रहरी प्रशासनलाई समेत जानकारी गराइएको छ। २६ असारमा धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित खानेपानीको ट्रान्सफर्मर चोरी भएको घटना पनि त्यहाँको स्थानीयले बताए। नक्टाझिजको पूर्व ६ नम्बर वडामा रहेको खानेपानी उपभोक्ता समितिको ट्रान्सफर्मर पोलबाट झारेर तेल र क्वाइल चोरी गरिएको थियो। यो घटनाको भने पहिले पनि दुई पटक चोरी भइसकेको थियो। चोरी नहोस् भन्ने उद्देश्यले वेल्डिङ गरिएको थियो, तर वेल्डिङ तोडेर चोरी भयो। चोरीपछि स्थानीयहरू चार दिनसम्म खानेपानी बञ्चित भए। त्यसपछि अर्को ट्रान्सफर्मर जडान गरेपछि पानी सुविधा पुनः सञ्चालनमा आयो। धानबाली लगाइएको यो मौसममा पानीको अभावले किसानहरू खडेरीको सामना गरिरहेका छन्। पानी नपर्दा किसानहरूले इनार, बोरिङ, स्यालो ट्युबवेल जस्ता स्रोतबाट विद्युतीय मोटर प्रयोग गरी सिंचाइ गरिरहेका छन्। तर सिंचाइका लागि जडान गरिएका ट्रान्सफर्मर चोरीन थालेपछि किसान चिन्तित भएका छन्।