
नागपञ्चमीको अवसरमा ललितपुरको नागदह क्षेत्रमा आयोजना गरिएको ‘हिस रन २०८३’ को तेस्रो संस्करण २९१ धावक–धाविकाको सहभागितामा सम्पन्न भएको छ। दर्ता विवरण अनुसार २० देखि २४ वर्ष उमेर समूहका ७६ जना सबैभन्दा बढी सहभागी थिए भने कुल २३३ पुरुष र ५८ महिला सहभागी थिए। हिमालयन रनिङ क्लबले हिस रनलाई संस्कृति, सम्पदा, पर्यटन, स्वास्थ्य र सामुदायिक भाइचारा जोड्ने अभियानको रूपमा अघि बढाएको छ।
नागपञ्चमीको सांस्कृतिक महत्वसँग जोडिएको नागदहलाई दौडको केन्द्र बनाउँदा स्थानीय सम्पदा र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न उमेर समूहका धावकको सहभागिता रहेको थियो। उपलब्ध दर्ता विवरण अनुसार २० देखि २४ वर्ष समूहको सहभागिता सबैभन्दा बढी (७६ जना) थियो, जसले कुलको २८ प्रतिशत बनाउँछ। ६० वर्ष वा सोभन्दा माथिका १० जना धावकले पनि दौडमा भाग लिएका थिए।
दर्ता भएका धावकमा २१८ पुरुष र ५३ महिला थिए। कार्यक्रमको दिन थप २० जनामा १५ पुरुष र पाँच महिला थिए। यससँगै पुरुष सहभागीको संख्या २३३ र महिला सहभागी ५८ पुगेको छ। आयोजकले महिला, युवा र नयाँ धावकको सहभागिता बढ्दै जानुलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
हिमालयन रनिङ क्लबका अध्यक्ष शहदेव ब्यञ्जनकारले हिस रनलाई दौडमार्फत संस्कृति, सम्पदा, पर्यटन र समुदायलाई जोड्ने अभियानको रूपमा अघि बढाइएको जानकारी दिए। कार्यक्रम संयोजक मदन महर्जनको संयोजनमा सम्पन्न कार्यक्रममा कीर्तिमानी म्याराथन धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरको पनि उपस्थिति थियो। आगामी संस्करणमा कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउँदै देशका विभिन्न स्थानहरु साथै विदेशी धावकलाई पनि आकर्षित गर्ने लक्ष्य राखिएको छ।






