सांसद रेनुका काउचाले नेपाली पब्जी टोलीलाई एसियाडमा सहभागी गराउन आग्रह गरिन्

सांसद रेनुका काउचाले छनोट गरिएको नेपाली पब्जी टोलीलाई तत्काल एसियाडमा सहभागी गराउन उपयुक्त वातावरण बनाउन प्रतिनिधिसभामा माग गरिन्। उनले राखेपले एसियाड सूचीबाट पब्जी टोली हटाएको निर्णयले स्तब्ध बनाइएको भन्दै प्रशासनिक विवाद तथा ईस्पोर्ट्स संघबीचको मतभेदको आलोचना गरिन्। काउचाले खेलाडीहरूलाई अदालतको ढोका अगाडि पुग्न बाध्य बनाउन परेको भन्दै खेलकुद मन्त्रालय र राखेपको ध्यानाकर्षण गराइन्।
२ भदौ, काठमाडौं। प्रतिनिधिसभा सदस्य रेनुका काउचाले छनोट भएका पब्जी टोलीलाई तुरुन्त एसियाडमा समावेश गर्नुपर्ने माग गरिन्। मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले देशको सम्मानमा कुनै खुल्ला खेलवाड हुनु हुँदैन भनिन्। ‘युवाहरूको परिश्रम, पसिना र देशको सम्मानमाथि यसरी खेलवाड गर्नु गलत हो। छनोट भएका पब्जी टोलीलाई तुरुन्त एसियाडमा सहभागी गराउन वातावरण बनाइयोस्,’ उनले भनिन्।
पब्जीलाई एसियाडबाट हटाउने राखेपको निर्णयले उनी स्तब्ध बनिन् भन्दै सांसद काउचाले भनिन्, ‘देशमा युवा प्रधानमन्त्री छन्, युवा खेलकुद मन्त्री पनि छन्, तर विडम्बना के छ भने युवा खेलाडीहरू प्रशासनिक झमेलामा फँसेका छन्। नेपाली पब्जी टोलीले भियतनाममा सम्पन्न छनोट प्रतियोगिता सफलतापूर्वक पार गरी २०औं एसियाडमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ, तर एसियाडको सूचीबाट हटाउने राखेपको पछिल्लो निर्णयले स्तब्ध बनाएको छ।’
प्रशासनिक झमेलाका कारण, दुईवटा ईस्पोर्ट्स संघबीचको विवाद र खेलकुद निकायहरूको गैरजिम्मेवार नीतिका कारण युवा खेलाडीहरू अदालतको ढोका छिरन बाध्य हुनु अत्यन्त दुखद रहेको सांसद काउचाले भनिन्। ‘अघिल्लो संस्करणमा पदक नजिक पुगेका र यस पटक पनि देशका लागि पदक जित्ने दृढ संकल्पका साथ दिनरात अभ्यास गरिरहेका हाम्रा होनहार युवा खेलाडीहरू आज प्रशासनिक झमेलामा फँसेका छन्। दुईवटा ईस्पोर्ट्स संघबीचको विवाद र खेलकुद निकायहरूको गैरजिम्मेवार नीतिका कारण अदालतको ढोका थर्किनुपरेको कुरा अत्यन्त दुखद छ,’ उनले भनिन्, ‘म यो संसद्मार्फत खेलकुद मन्त्रालय र राखेपको ध्यानाकर्षण गराउन चाहन्छु।’






