Skip to main content

मानसिक स्वास्थ्य: दैनन्दिन तनाव कहिले गम्भीर समस्यामा परिणत हुन्छ?

यदि तपाईँलाई अन्य काम गर्न मन नलाग्ने, हरेक कुराले झिँझो लाग्ने र ओछ्यानबाट उठ्न पनि जाँगर नहुने स्थिति नियमित रूपमा भैरहेको छ भने, तपाईँलाई मानसिक स्वास्थ्य समस्याहरू हुनसक्छन्। एक व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यबारे कसरी थाहा पाउन सक्छ र तनावग्रस्त अवस्थाले कहिले गम्भीर रोगको रूप लिन सक्छ? डिप्रेशन, एङ्जाइटी र तनावसँग सामना गरिरहेका व्यक्तिले कहिले चिकित्सकीय सहयोग लिनुपर्छ र हामी कसरी आफ्नो मानसिक स्वास्थ्यलाई सुदृढ राख्न सक्छौं? यी प्रश्नहरूको जवाफ हामीले मनोवैज्ञानिक डा. कोमलप्रीत कौरसँग खोज्ने प्रयास गरेका छौं।

मनोवैज्ञानिक र मनोचिकित्सकबीच के फरक हुन्छ? मनोवैज्ञानिकहरू मानसिक स्वास्थ्यसम्बन्धी पेशाकर्मी हुन् जसले व्यक्तिलाई उनीहरूको विचार, भावना र व्यवहार बुझ्न सहयोग गर्दछन्। मनोवैज्ञानिकले परामर्श र मनोचिकित्सासम्बन्धी सहयोग दिएर भावनात्मक चुनौतीहरू पार गर्न मद्दत गर्छन्। अर्कोतिर, मनोचिकित्सक भनेका चिकित्सा क्षेत्रमा आबद्ध डाक्टर हुन्, जसले बिरामीलाई औषधि दिने अधिकार राख्छन्। मनोवैज्ञानिकहरूले औषधि लेख्न सक्दैनन्। जब कुनै व्यक्तिको मानसिक रोग अत्यधिक गम्भीर हुन्छ, तब मात्र मनोचिकित्सकले औषधि सिफारिस गर्छन्। कतिपय अवस्थामा मनोवैज्ञानिक र मनोचिकित्सकले संयुक्त रूपमा टोली बनाएर काम गर्दछन्।

केही प्रारम्भिक संकेतहरू जसले व्यक्तिलाई मनोवैज्ञानिक सहयोग चाहिने कुरा जनाउन सक्छ के के हुन्? यदि व्यक्ति दुई हप्ताभन्दा बढी समयदेखि चिन्तित छ, कुनै स्पष्ट कारणबिना चिन्तामा डुबेको छ, अत्यधिक वा कम सुत्न थालेको छ वा अत्यधिक वा कम भोक लाग्ने भएको छ भने त्यो तनाव वा चिन्ताको अनुभव हो। यस्ता लक्षणहरू देखिँदा यो मानसिक अस्वस्थताको सङ्केत हुन सक्छ। त्यस्तो अवस्थामा तपाईँलाई मानसिक स्वास्थ्य पेशाकर्मीको परामर्श आवश्यक हुन्छ।

मानसिक रोग वा डिप्रेशनको कारण के हो? केही कुरा हाम्रो जेनेटिक संरचनामा निर्भर गर्दछ भने केही कुरा हाम्रो वरिपरिको वातावरणमा। उदाहरणका लागि, यदि तपाईँको परिवारमा कसैले डिप्रेशनको समस्या भोगिरहेको छ भने तपाईँ पनि त्यसबाट प्रभावित हुन सक्नुहुन्छ। तर यो सधैं होइन। यो धेरै वातावरणीय र व्यक्तिगत परिस्थितिहरूको मिश्रण हुनसक्छ। यदि परिवारमा तनावपूर्ण वातावरण छ भने अरू सदस्यहरूमा पनि नकारात्मक सोच विकास गर्न सकिन्छ। यस्ता तथ्यमाथि तत्काल ध्यान दिनु अत्यन्त जरुरी हुन्छ।