Skip to main content

१४औं दक्षिण एसियाली खेलकुदमा २८ खेल र ३४६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिने

१४औं दक्षिण एसियाली खेलकुद चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा आयोजना हुने भएको छ भनेर नेपाल ओलम्पिक कमिटीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। आगामी सागमा २८ खेल समावेश गरिनेछ र प्रारम्भिक सूचीअनुसार ४,१९१ जना सहभागी हुने अनुमान गरिएको छ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा साउथ एसिया ओलम्पिक काउन्सिलको कोअर्डिनेशन कमिटी पहिलोपटक गठन गरिएको छ।

१४औं सागमा २८ खेल समावेश गरिनेछ, जसमा २५ खेल पुरुष तथा महिला दुवैका लागि हुनेछन् भने ३ खेल पुरुषहरूको मात्र हुनेछ। १४औं सागमा समावेश हुने खेलहरूमा एथलेटिक्स, अक्वाटिक्स (पौडी), आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड्स, बक्सिङ, क्रिकेट, फुटबल, गोल्फ, ह्यान्डबल, हकी, कबड्डी, कराँते, रोइङ, रग्बी, सुटिङ, स्क्वाश, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुश्ती र उसु समावेश छन्।

१४औं सागमा कुल ३४६ पदक वितरण गरिनेछ जसमा ३४६ स्वर्ण, ३४६ रजत र ५१५ कास्य पदक हुनेछ। प्रारम्भिक सूचीअनुसार ३,१७२ खेलाडी र १,०१९ अफिसियलसहित कुल ४,१९१ सहभागी हुने अनुमान गरिएको छ। पाकिस्तानले १४औं साग तीन शहरहरूमा आयोजना गर्नेछ।

उद्घाटन समारोह इस्लामाबादको जिन्ना स्टेडियममा हुनेछ, जसको दर्शक क्षमता करिब ५० हजार छ। बैठकमा भारतले भर्चुअल रूपमा सहभागिता जनाएको र सबै राष्ट्रहरूको सहभागिता सुनिश्चित भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।